दोलखा।
बुधवार रातिको अविरल वर्षाका कारण खारे खोलाले जमिन कटान गर्न थालेपछि दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ८ खारे स्थित लोगटा बस्ती जोखिममा परेको छ ।
बस्तीमा रहेको १४-१५ घर मध्य १० घर तत्काल सर्नुपर्ने अवस्था रहेको स्थानीय रवीन्द्र सुरेलले बताए । बुधवार रातीको अविरल बर्षापछि खारे खोलामा बाढी आएर जमिन कटान गर्दा स्थानीय पहल बहादुर तमाङ, धनबीर तमाङ र रत्न बहादुर तमाङले घर छोडेर अन्यत्र बसेको र स्थानीय बुद्धिमान तमाङ, आरत बहादुर तमाङ र दिनेश तमाङ पनि तत्काल सर्नुपर्ने अवस्थामा रहेको स्थानीय रवीन्द्र सुरेलले बताए ।
उनीहरु सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा सुरक्षित स्थानमा टहरा बनाएर बसेको वडा नम्बर– ८ का वडा अध्यक्ष दावा रेन्जी शेर्पाले बताए ।
नदी किनार भन्दा केही माथि रहेका भक्त बहादुर तमाङ, धन बहादुर तमाङ र वीर बहादुर तमाङको घर समेत जोखिममा रहेकोले पानी पर्दा अन्यत्र बस्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् ।
लोगटा वस्ति जोखिममा परेपछि पालिका प्रमुख विश्वास कार्की लगायतले स्थलगत अवलोकन गरेको र पालिका तथा वडाले तत्काल टहरा निर्माण लगायतका लागि सहयोग गर्ने वडा नम्बर– ८ का वडा अध्यक्ष दावा रेन्जी शेर्पाले बताए ।
अहिले जोखिममा रहेका स्थानीय आफन्तको घरमा बसिरहेको र केही समय पछि आवश्यक व्यवस्थापन गरेर अन्यत्र सर्ने वडा अध्यक्ष शेर्पाले बताए ।











प्रतिक्रिया