अत्याधुनिक स्वरूपमा नेपाल व्यायाम मन्दिर पुन: सञ्चालन


काठमाडौं ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले बिहीबार रिबन काटेर उद्घघाटन गरेसँगै नेपालकै जेठो जिम नेपाल व्यायाम मन्दिर अत्याधुनिक उपकरणसहित नयाँ स्वरूपमा पुन: सञ्चालनमा आएको छ । 

उद्घघाटनका क्रममा कार्यवाहक मेयर डंगोलले केही मिनेट आफैंले व्यायाम समेत गरेकी थिइन् । वि.सं. २०१० सालमा युथ संगठनको नामबाट सुरु भई खिचापोखरी र भुरुखेल हुँदै ज्याठामा आएर स्थापित यस व्यायाम मन्दिरलाई समयसापेक्ष स्वास्थ्य तथा फिटनेस आवश्यकतालाई ध्यानमा राख्दै पूर्ण रूपमा अत्याधुनिक बनाइएको हो ।

चीनको ‘फिटनेस च्वाइस’ नामक संस्था मार्फत १ करोडभन्दा बढी मूल्यका अत्याधुनिक व्यायाम मेशिन तथा उपकरणहरू ल्याएर यस जिममा जडान गरिएको छ । नयाँ स्वरूपमा महिला र पुरुषका लागि छुट्टाछुट्टै अत्याधुनिक स्टिम, साउना बाथ र कार्डियो स्टेसनका साथै दुवैका लागि छुट्टाछुट्टै शौचालयहरूको समेत निर्माण गरिएको छ । नयाँ थपिएका यी उपकरणहरूको सहायताले अब जिममा एकै सिफ्टमा ८० देखि १०० जनासम्मले सहज रूपमा व्यायाम गर्न सक्ने क्षमता पुगेको छ ।

व्यायाम मन्दिरमा नियमित जिमका अतिरिक्त जुम्बा, विशेष योग कक्षाहरू र किकबक्सिङ प्रशिक्षण लगायत खेलकुदका अन्य विविध गतिविधिहरु समेत सञ्चालन हुने व्यवस्था मिलाइएको छ । नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानका अनुसार व्यायामशाला जाडोयाममा बिहान ६:०० बजेदेखि बेलुका ८:०० बजेसम्म र गर्मीयाममा बिहान ५:०० बजेदेखि राति ९:०० बजेसम्म खुला रहनेछ । यो एउटा जनस्तरीय तथा जनताको व्यायामशाला भएकाले सेवाग्राहीहरूका लागि लिइने सेवा शुल्क अन्य महँगा जिमहरूको तुलनामा सस्तो र सुलभ राखिएको सञ्चालकहरूले बताएका छन् ।