लहानमा लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई घाइते

६ जना नियन्त्रणमा


लहान (सिरहा)।

सिरहाको लहान नगरपालिका–३ स्थित हस्पिटल चोकमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएको छ। बिहीबार भएको उक्त अपरेसनमा ६ जनालाई नियन्त्रणमा लिइएको छ भने गोली लागेर दुई जना घाइते भएका छन्।

प्रहरीका अनुसार काठमाडौँको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको विशेष टोलीले गोप्य सूचनाका आधारमा लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न खोज्दा उनीहरूले प्रतिरोध गरेका थिए। त्यसपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको जनाएको छ।

गोली लागेर एक नेपाली र एक भारतीय नागरिक घाइते भएका छन्। दुवै जनाको लहानस्थित राउ स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको स्वास्थ्य अवस्था र पहिचानबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

घटनास्थलबाट प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि लागूऔषध कारोबार तथा संगठित सञ्जालसँगको सम्भावित संलग्नताबारे अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

प्रहरीले घटनास्थलबाट बरामद भएका लागूऔषध तथा अन्य प्रमाणहरूको परीक्षण भइरहेको र घाइते तथा पक्राउ परेकाहरूको पहिचान, घटनाको कारण र अपरेसनको विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जनाएको छ।