काठमाडौं, (नेस) ।
एसीसी महिला यू–१९ प्रिमियर कप २०२६ मा गरेको ऐतिहासिक प्रदर्शनमा अमरावती बुटिक होटलले सबित्री धामीलाई नगदसहित सम्मान गरेको छ । बुधबार आयोजित सम्मान कार्यक्रममा अमरावती बुटिक होटलले धामीलाई नगद ५० हजार प्रदान गर्दै सम्मान गरेको हो ।
धामी मलेसियामा भएको एसीसी महिला यू–१९ प्रिमियर कप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको सर्वाधिक रनकर्ता बनेकी थिइन् । उनले प्रतियोगिताभर २ सय ५६ रन जोड्दै नेपाली महिला यू–१९ क्रिकेटको इतिहासमा नयाँ कीर्तिमानसमेत कायम गरेकी थिइन् ।
उनले प्रतियोगितामा लगातार तीन अर्धशतक प्रहार गरेकी थिइन् । उनी नेपाली महिला क्रिकेट इतिहासमै लगातार तीन अर्धशतक बनाउने पहिलो खेलाडीको रूपमा समेत स्थापित भइन् । प्रतियोगितामा उनको उत्कृष्ट व्यक्तिगत स्कोर सिंगापुरविरुद्ध बनाएको अपराजित ७८ रन थियो
धामीले आफ्नो मेहनत र प्रदर्शनको कदर गर्दै सम्मान गरेकोमा अमरावती बुटिक होटल परिवारप्रति हार्दिक आभार व्यक्त गरिन् । उनले उक्त सम्मानले आगामी दिनमा अझ मेहनत गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको नाम थप उँचो बनाउन प्रेरणा मिलेको बताइन् ।
त्यसैगरी, अमरावती बुटिक होटलका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले धामीको उपलब्धिलाई व्यक्तिगत सफलताभन्दा पनि नेपाली महिला क्रिकेटको इतिहासमा कोसेढुंगा सावित हुने बताए । श्रेष्ठले यस्ता प्रतिभावान खेलाडीहरूलाई सम्मान गर्न पाउँदा गर्व लागेको उल्लेख गर्दै भविष्यमा पनि नेपाली खेलकुद, विशेषगरी महिला क्रिकेटको विकास र खेलाडीहरूको मनोबल अभिवृद्धिका लागि अमरावती बुटिक होटल निरन्तर सहकार्य र समर्थनमा रहने प्रतिबद्धता जनाए ।
धामीले प्रतियोगिताभर उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै नेपाललाई एसीसी महिला यू–१९ एसिया कपमा छनोट गराउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरिन् । जापानविरुद्धको क्वार्टरफाइनलमा उनले ४१ रनको योगदानले नेपालले जित दर्ता गर्दै एसीसी महिला यू–१९ एसिया कपमा स्थान सुरक्षित गरेको थियो । प्रतियोगितामा नेपालले इन्डोनेसियामाथि ९ विकेटको प्रभावशाली जित निकाल्दै तेस्रो स्थान हासिल गरेको थियो ।











प्रतिक्रिया