कावा मेयर डंगोलको निर्देशनलगत्तै माइतीघरमा खोलियो निकास

थापाथली क्याम्पसलगायतका संरचनाका कारण डुबानमा परेको निष्कर्ष

0
Shares

–निकास ठूलो बनाएर डुबान हुन नदिने योजना

काठमाडौँ ।

सामान्य वर्षा हुँदा पनि माइतीघर क्षेत्र डुबानमा परेपछि सरकारी निकाय हैरान भएको छ । असारयता हालसम्म तीन पटकभन्दा बढी माइतीघर, अनामनगर, न्युप्लाजा र धोबीखोला किनारको बस्ती डुवान भैसकेको छ । टुकुचाखोला छोपेर संरचना निर्माण गर्दा समस्या भएको बताइएको छ ।

लगातार डुबानमा परेपछि हिजो बुधवारबाट निकास खोल्ने काम सुरु भएको छ । हिजो दिउँसो थापाथली इन्जिनियरिङ क्याम्पसभित्रको टुकुचा खोलाको स्ल्याब खोतलेर सफा गरिएको थियो भने जंगी अड्डाभित्रको निकास पनि खोलेर जेडमेसिनले निकास सफा गरिएको थियो ।
विशेषगरी थापाथली क्याम्पसभित्र रहेको टुकुचा खोलाको निकास सानो भएको र पछिल्लो समय निर्माण भएको तथ्याङ्क कार्यालय, सरकारी वकिल कार्यालय र क्याम्पस नजिकैको टहरालगायत संरचनाको कारण माइतीघर डुवानमा परेको निष्कर्ष सरकारी निकायको छ । सोहीअनुसार निकास खोल्ने काम सुरु भएको हो ।

माइतीघर डुबानमा परेपछि त्यहाँ हुँदै बग्ने पानीको निकासको पाइप सानो भएर रोकिएको अनुगमनको क्रममा फेला परेको जानकारी दिँदै कामपा प्रहरीबल प्रमुख विष्णुप्रसाद जोशीले भन्नुभयो– ‘जब थापाथली क्याम्पस, सरकारी वकिल कार्यालय र तथ्याङ्क कार्यालय पुनर्निर्माण सम्पन्न भयो, त्यसपछि माइतीघरक्षेत्र डुबानमा पर्न थालेको हो ।’

कामपाका कार्यवाहक मेयर सुनिता डंगोलले मङ्गलवार अनुगमन गर्ने क्रममा माइतीघर क्षेत्रमा ९० सेन्टिमिटरको ढल राखिएको र निकास हुने ठाउँमा ६० सेन्टिमिटरको मात्र ढल रहेको पाइएको छ । प्रारम्भिक अवस्थामा यही कारणले डुवान भएको देखिन्छ । त्यसबाहेक माइतीघर मण्डला क्षेत्रवरिपरि भवन संरचना निर्माण गर्दा ढल निकास प्रणालीमा अवरोध भएको देखिन्छ ।

कावा मेयर डंगोलले थप कारण पत्ता लगाउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड,डिभिजन सडक कार्यालय काठमाडौँ, कामपा विपद् व्यवस्थापन विभाग र सार्वजनिक निर्माण विभागको टोलीलाई प्रतिवेदन तयार गरी पेस गर्न निर्देशन पनि दिनुभएको थियो

तत्काल डुबानबाट रोक्ने उपाय खोज्न सरोकारवाला निकायलाई आग्रह गरेलगतै कामपा सार्वजनिक निर्माण विभाग प्रमुख इन्जिनियर सुरेश राई सहितको टोली बुधवार थापाथली क्याम्पसमा पुगेको थियो । कामपा सार्वजनिक निर्माण विभाग प्रमुख राईले एकदुई दिनमै माइतीघरमा पानीको निकास खोलिने जानकारी दिनुभयो । विभागप्रमुख ई. राईले नेपाल समाचारपत्रसंग भन्नुभयो– ‘निकास थुनिएको आशङ्का भएपछि जेडमेशिनले सफा गरेका छौँ ।’

अनुगमनको क्रममा पानी पस्ने स्थान ठुलो भएर निकास सानो हँुदा जलमग्न हुने गरेको भेटिएको सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख इन्जिनियर सुवोध देवकोटाले भन्नुभयो ।

लगातार माइतीघर क्षेत्र डुबान हुन थालेपछि तीन दिनअघि प्राधिकरणले सरोकारवाला निकायको बैठक बोलाएको थियो । बैठकमा तत्कालिन, मध्यकालीन र दीर्घकालीन योजना तयार गर्ने निर्णय भएको थियो । सोही आधारमा अध्ययन भैरहेको प्राधिकरणका सूचना अधिकारी शान्ति महतले भन्नुभयो । उहाँका अनुसार प्रतिवेदन आउनासाथ काम सुरु हुनेछ । उहाँले भन्नुभयो– ‘टुकुचा सानो भएको विषयमा छलफल भएको थियो । किन त्यसो गरियो ? भन्ने विषयमा निचोड निस्कन सकेन । त्यसैले चार निकायका अधिकारी सम्मिलित समितिले प्रतिवेदन दिएपछि काम सुरु गर्ने तयारी छ ।’

कामपा विपद् व्यवस्थापन प्रमुख अनिरुद्र नेपालले थापाथली, माइतीघर लगायत क्षेत्र डुवानमा पर्ने गरेको विषयमा अध्ययन भैरहेको जानकारी दिँदै भन्नुभयो– ‘प्राधिकरणको बैठकले तयार गरेको योजनाअनुसार तत्काल निकास खोल्न काम सुरु हुनेछ ।’ उहाँका अनुसार राजधानीका जलमग्न हुने सबैक्षेत्रको निकासा ठुलो बनाउने विषयमा छलफल भैरहेको छ र यही वर्षायाममा सुधारको योजना ल्याई आगामी वर्ष जलमग्न हुने अवस्थाको अन्त्य हुनेछ ।

माइतीघर मात्र होइन महानगरक्षेत्रका दर्जन बढी स्थानमा डुबानको समस्या बढेको छ । निकास नभएको कारण डुवान बढेको निष्कर्ष सरोकारवाला निकायको छ ।
माइतीघरबाट जिल्ला प्रहरी परिसरतर्फ भद्रकाली जाने बाटो जलमग्न हुँदा साना सवारी साधन र पैदलयात्रीले चर्को सास्ती व्यहोर्नुपर्छ । भक्तपुर र ललितपुरतर्फबाट आउने सवारी साधनहरू त्यही बाटो भएर गुड्छन् । बाटो जलमग्न हुँदा बानेश्वरसम्म र ललितपुरक्षेत्रमा पुल्चोकसम्मै सवारी आवागमन प्रभावित हुने गरेको छ ।

एक वर्षमा ४ हजार म्यानहोल सफाइ

काठमाडौँ महानगरपालिकाले वर्षामा राजधानी जलमग्न हुन नदिने ३ हजार ९६७ वटा म्यानहोल सफा गरेको छ । गत साउनदेखि यसपालिको साउन ६ गतेसम्ममा महानगरले झण्डै ४ हजार म्यानहोल सरसफाइ गरेको हो ।

कामपा विपद् व्यवस्थापन विभाग प्रमुख अनिरुद्र नेपालले म्यानहोल सफाइ गरेको कारण एकाधबाहेक अन्य क्षेत्रमा जलमग्न हुन नपाएको बताउनुभयो । उहाँका अनुसार गएको वर्ष साउनमा ८८, भदौमा ४४०, असोजमा ४२६, कात्तिकमा २७३,मंसिरमा ३१९, पुसमा ३९३, माघमा ३२९, फागुनमा २६४, चैतमा ४३२, वैशाखमा ३४८, जेठमा ३५७, असारमा २९८ म्यानहोल सफा भएको छ ।

त्यस्तै २ हजार १७४ क्याचपिट, १ हजार ६३६ स्ल्याब सफा गरिएको छ । विभागीय प्रमुख नेपालले ढल निकास सफाइ गर्दा ९३६ टिप अर्थात् २ हजार ७०३ टन फोहोर संकलन भएको जानकारी दिनुभयो ।
विभागले वर्षात आउनुअघि नै सबै क्षेत्रको ढल, मंगाल, स्ल्याब सफाइ गरेको जानकारी दिँदै विपद् व्यवस्थापन गर्न विभागले सबै तयारी पूरा गरिसकेको बताएको छ ।