हिरासतमा रहेका चिनियाँ नागरिक छुटाइदिने भन्दै ठगी, कलाकार खतिवडासहित तीन जना पक्राउ


काठमाडौं ।

अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने आश्वासन दिएर रकम असुल्न खोजेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका–८ सिरिसेका ३८ वर्षीय बिक्रमबहादुर थापा, नवलपरासी (पश्चिम) सुनवल नगरपालिका–७ का ५९ वर्षीय गोपालबहादुर गुरुङ तथा सर्लाही लालबन्दी नगरपालिका–५ का ५२ वर्षीय नारदप्रसाद खतिवडा रहेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अध्यागमन विभागको हिरासतमा रहेका ९ जना चिनियाँ नागरिकलाई रिहा गराइदिने भन्दै ७२ लाख रुपैयाँमा सहमति भएको थियो। आरोपितहरूले पहिलो किस्ताबापत ९ लाख रुपैयाँसमेत लिइसकेको खुलेको प्रहरीले जनाएको छ।

उनीहरूले उच्च तहसम्म पहुँच रहेको दाबी गर्दै कानुनी प्रक्रिया प्रभावित पार्न सकिने आश्वासन दिएर रकम उठाउन खोजेको सूचनापछि प्रहरीले गोप्य निगरानी गरेको थियो। त्यसपछि उनीहरूलाई पक्राउ गरिएको हो।

हाल पक्राउ परेकामाथि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै घटनामा अन्य व्यक्तिको संलग्नता, रकमको थप कारोबार र हिरासतमा रहेका चिनियाँ नागरिकसँगको सम्बन्धबारे पनि विस्तृत अनुसन्धान जारी रहेको छ।

प्रहरीका अनुसार प्रभाव र पहुँचको नाममा कानुनी प्रक्रियामा हस्तक्षेप गराइदिने बहानामा रकम असुल्ने गतिविधिमा संलग्न हुन सक्ने अन्य व्यक्तिहरूको भूमिकाबारे पनि अनुसन्धान अघि बढाइएको छ।