धादिङ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित तल्लो भुलभुले गाउँमा पँधेरो खोल्चा डाँडाबाट अचानक पहिरो खस्न सुरु भयो।
हेर्दाहेर्दै डाँडा नै बग्न थालेपछि सोही क्षेत्रमा रहेका दिलबहादुर गुरुङ, गोविन्द श्रेष्ठ, हिराबहादुर श्रेष्ठ र अमृत गुरुङका घरहरू पहिरोको चपेटामा परे। पहिरोको छिद्रमा परेर दिलबहादुर गुरुङको घर पूर्ण रूपमा पहिरोभित्र पुरियो, जसका कारण चारवटै परिवार आफ्नो थातथलो छाडेर विस्थापित हुन पुगेका छन्।
पहिरो खस्ने क्रममै पँधेरो धारा डाँडामा धादिङ बेसीका लागि लगिएको मुख्य खानेपानीको पाइप फुट्न पुग्यो। पाइप फुटेर पानी डाँडामै पोखिन थालेपछि जमिन थप कमजोर भई डाँडा नै फुटेर खस्न थाल्यो। यसले पहिरोको रूपलाई अझ भयावह त बनायो नै, सदरमुकाम धादिङ बेसीका करिब २ हजार ५ सय घरधुरीमा खानेपानीको वितरण नै पूर्ण रूपमा ठप्प गराइदियो।
पहिरोको वितण्डा यतिमै रोकिएन। गाउँको अर्कोतर्फ रहेको नेवार खोल्छाबाट पनि पहिरो खस्न थालेपछि दुई खोल्साको बीचमा परेको भुलभुले गाउँ चौतर्फी जोखिममा परेपछि ४६ घर परिवार जाेखिममा रहेकाे स्थानिय भरतबहादुर गुरुङले बताउनुभयो ।
पहिरोले गाउँको करिब २०० रोपनी खेतीयोग्य जग्गा बगाएर सखाप पारेको छ। यस्तै, प्रदेश सरकार र नीलकण्ठ नगरपालिकाको साझेदारीमा निर्माण गरिएको ६०० घनमिटरको तारजाली (ग्याबिन) पर्खाल समेत पहिरोले ढालेपछि प्रदेश सरकारको ६५ लाख रुपैयाँ बराबरको लगानी अलपत्र परेको छ। स्थानीय भरतबहादुर गुरुङका अनुसार केही घरबाहेक सिङ्गो भुलभुले गाउँ नै अहिले अति जोखिममा परेको छ।
उक्त घटनाविपत्ति लगत्तै जिल्ला प्रहरी कार्यालयको टोली, नीलकण्ठ नगरपालिकाका प्रमुख भिम ढुंगाना, उपप्रमुख दीपक विश्वकर्मा, नीलकण्ठ खानेपानी तथा स्वच्छता व्यवस्थापन बोर्डका अध्यक्ष शिव अधिकारी लगायतको टोलीले पहिरोग्रस्त क्षेत्रको प्रत्यक्ष स्थलगत अवलोकन गरेको छ। निरीक्षण पश्चात् टोलीले फुटेको पाइप मर्मत गरी खानेपानी सुचारु गर्ने र विस्थापित एवम् जोखिममा परेको बस्ती संरक्षणका लागि तत्काल आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।











प्रतिक्रिया