स्पेन दोस्रोपटक फिफा विश्वकप च्याम्पियन

376
Shares

काठमाडौँ ।

फिफा विश्वकप २०२६ को रोमाञ्चक फाइनलमा अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै स्पेनले दोस्रोपटक विश्वविजेताको ट्रफी उचालेको छ ।

नेपाली समयअनुसार सोमवार बिहान न्युयोर्कको न्युजर्सी स्टेडियममा भएको फाइनल खेलको निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । इन्जुरी समयको तेस्रो मिनेटमा एन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड खाँदै रातो कार्डसहित मैदान छाडेपछि अर्जेन्टिना १० खेलाडीमा सीमित हुन पुग्यो । जसको फाइदा स्पेनले पूर्ण रूपमा उठायो । अतिरिक्त समयको १६ औं मिनेटमा वैकल्पिक खेलाडी निको विलियम्सको हेडर पासलाई सदुपयोग गर्दै फेरान टोरेसले नजिकबाट गरेको शक्तिशाली प्रहार खेलको निर्णायक बन्यो ।

खेलभर स्पेनले आक्रमक प्रदर्शन गर्दै लामिन यामाल र मिकेल ओयार्जाबालमार्फत धेरै अवसर सिर्जना गरे पनि अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले उत्कृष्ट बचाउ गर्दै टिमलाई बचाएका थिए । स्पेनका विलियम्सले अतिरिक्त समयमा अर्को गोल गरे पनि रेफ्रीले त्यसलाई मान्यता दिएनन् । यद्यपि, टोरेसको एक मात्र गोल नै स्पेनलाई सन् २०१० यता दोस्रो पटक विश्वकपको शीर्ष स्थानमा पु¥याउन पर्याप्त भयो ।

विश्वकपको भव्य समापनसँगै व्यक्तिगत विधाका पुरस्कारहरूमा पनि स्पेनिस खेलाडीहरूको वर्चश्व कायम रह्यो । स्पेनलाई ऐतिहासिक उपाधि दिलाउन मध्यभागबाट उत्कृष्ट नेतृत्व गरेका मिडफिल्डर रोड्री प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै प्रतिष्ठित ‘गोल्डेन बल’ जित्न सफल भए । त्यसैगरी, फ्रान्सेली स्टार फरवार्ड किलियन एमबाप्पेले प्रतियोगिताभर ८ खेलमा सानदार १० गोल गर्दै ‘गोल्डेन बुट’ आफ्नो नाममा लेखाए ।

स्पेनको बलियो रक्षापंक्तिको मुख्य खम्बा बनेका युवा डिफेन्डर पाउ कुबार्सीले प्रतियोगिताभर उत्कृष्ट खेल देखाउँदै ‘उत्कृष्ट युवा खेलाडी’ को उपाधि जिते भने स्पेनले समग्र प्रतियोगितामा मात्र एक गोल बेहोर्ने क्रममा गोलरक्षक उनाइ सिमोनले ८ मध्ये ७ खेलमा क्लिन सिट राख्दै ‘गोल्डेन ग्लोभ्स’ हात पार्न सफल भए ।