दिल्लीमा संसद् मार्च गर्न खोज्ने प्रदर्शनकारीमाथि अश्रुग्यास र लाठीचार्ज


काठमाडौं ।

भारतको शिक्षा प्रणालीमा सुधारको माग गर्दै ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा सोमबार दिल्लीमा हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका छन्। संसद् भवनतर्फ मार्च गर्न खोजेपछि प्रहरीसँग उनीहरूको झडप भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनमा विद्यार्थी, अभिभावक, सामाजिक अभियन्ता र विभिन्न क्षेत्रका नागरिक सहभागी थिए। प्रदर्शनकारीहरू संसद् भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्दै लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो।

प्रदर्शनका लागि तोकिएको जन्तरमन्तर क्षेत्रमा बिहानैदेखि ठूलो संख्यामा मानिस भेला भएका थिए। सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै दिल्ली प्रहरीले ठूलो संख्यामा प्रहरी र अर्धसैनिक बल परिचालन गरेको थियो।

सीजेपीका संस्थापक अभिजित दीपकेलाई प्रहरीले नियन्त्रणमा लिएको दाबी पार्टीका प्रवक्ता सौरभ दासले गरेका छन्। उनका अनुसार प्रदर्शन शान्तिपूर्ण भए पनि प्रहरीले अनावश्यक बल प्रयोग गरेको छ।

सीजेपी कुनै दर्ता भएको राजनीतिक दल भने होइन। परीक्षा प्रणालीमा देखिएका अनियमितता, प्रश्नपत्र चुहावट तथा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै गत मे महिनादेखि यो अभियान सामाजिक सञ्जालमार्फत सुरु भएको थियो। पछिल्लो समय यसले व्यापक जनसमर्थन पाएको बताइएको छ।

प्रदर्शनकारीहरूले भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले शिक्षा क्षेत्रमा देखिएका कमजोरीको नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने माग गरेका छन्। यद्यपि प्रधानले यसअघि सीजेपीलाई ‘उच्छृङ्खल तत्वहरूको बी–टिम’ भन्दै आलोचना गरेका थिए।

यसैबीच, सीजेपीका प्रतिनिधिले भारतका स्वास्थ्यमन्त्री जेपी नड्डासँग भेट गरेको दाबी गरेका छन्। प्रवक्ता सौरभ दासका अनुसार आन्दोलनकारीको मागबारे सरकारसँग छलफल भएको र मागपत्र पनि बुझाइएको छ।

प्रदर्शनका क्रममा केही प्रदर्शनकारी अत्यधिक गर्मीका कारण बेहोस भएका थिए भने सुरक्षाकर्मी र प्रदर्शनकारीबीच धकेलाधकेलसमेत भएको थियो।

भारतमा राजनीतिक प्रदर्शन सामान्य मानिए पनि राजधानी दिल्लीमा संसद् भवन आसपास यति ठूलो संख्यामा भएको विरोध प्रदर्शन पछिल्ला वर्षका उल्लेखनीय घटनामध्ये एक मानिएको छ।