१५ करोड वर्ष पुरानो नयाँ डायनासोर प्रजाति थाइल्यान्डमा फेला


काठमाडौं

वैज्ञानिकहरूले करिब १५ करोड वर्षअघि (लेट जुरासिक काल) पृथ्वीमा विचरण गर्ने नयाँ डायनासोर प्रजाति पत्ता लगाएका छन्। ‘उरागासौरस कालासिनेन्सिस’ नाम दिइएको यो नयाँ प्रजाति थाइल्यान्डको उत्तरपूर्वी क्षेत्रमा फेला परेको हो।

यो खोज महासारखाम विश्वविद्यालयका डा. अपिरुत निलपनापनको नेतृत्वमा गरिएको अनुसन्धान टोलीले गरेको हो। यस सम्बन्धी अध्ययन जुलाई ८ मा प्रतिष्ठित वैज्ञानिक पत्रिका नेचरमा प्रकाशित भएको थियो।अनुसन्धानका अनुसार उरागासौरस मामेन्चिसौरिडे परिवारको लामो घाँटी भएको शाकाहारी डायनासोर हो। यस परिवारका डायनासोरहरूको घाँटी करिब ६६ फिटसम्म लामो हुने गरेको वैज्ञानिकहरूले बताएका छन्।

अनुसन्धानका क्रममा वैज्ञानिकहरूले सुरक्षित अवस्थामा रहेका जीवाश्म हड्डीहरूको अध्ययन गर्दै अन्य लामो घाँटी भएका साउरोपोड डायनासोरसँग तुलना गरेका थिए। साथै सीटी स्क्यान र त्रि-आयामिक (३डी) पुनर्निर्माण प्रविधि प्रयोग गरेर हड्डीको भित्री तथा बाहिरी संरचनाको विस्तृत विश्लेषण गरिएको थियो।अध्ययनमा प्रयोग गरिएको ढाडको माथिल्लो भागको कशेरुका (डोर्सल भर्टिब्रा) अन्य कुनै पनि परिचित डायनासोरसँग नमिल्ने देखिएपछि यो पूर्ण रूपमा नयाँ प्रजाति भएको निष्कर्ष निकालिएको हो।

डा. निलपनापनका अनुसार यस डायनासोरको हड्डीभित्र रहेको विशेष हावायुक्त गुहाको संरचना संसारका अन्य कुनै पनि डायनासोरमा नदेखिएको प्रकारको छ। यही विशेषताले यसलाई नयाँ प्रजातिका रूपमा चिनाएको उनले बताएका छन्।यो जीवाश्म थाइल्यान्डको फु नोई क्षेत्रमा फेला परेको हो, जहाँ लेट जुरासिक कालका विभिन्न जीवाश्महरू प्रशस्त मात्रामा भेटिने गरेका छन्।

नयाँ प्रजाति पहिचान गर्न सफल भएपछि आफू अत्यन्तै उत्साहित भएको उल्लेख गर्दै डा. निलपनापनले खुसीको आवेगमा आफ्नो कम्प्युटर नै फुटाएको अनुभव बीबीसीसँग साझा गरेका छन्।यसअघि मामेन्चिसौरिडे परिवारका अधिकांश जीवाश्म चीनमा मात्रै भेटिएका थिए। थाइल्यान्डमा पहिलो पटक यस परिवारको जीवाश्म भेटिएकाले दक्षिण चीनबाट दक्षिणपूर्वी एसियातर्फ यी डायनासोर फैलिएको वा बसाइँ सरेको हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ।

यसअघि पनि वैज्ञानिकहरूले थाइल्यान्डमै फेला परेको ‘नागाटाइटन’ नामक अर्को विशाल लामो घाँटी भएको शाकाहारी डायनासोरको घोषणा गरेका थिए। करिब ८८ फिट लामो र २९ टनभन्दा बढी तौल भएको नागाटाइटन दक्षिणपूर्वी एसियामा अहिलेसम्म फेला परेको सबैभन्दा ठूलो डायनासोर मानिन्छ।