विश्वकप फाइनलको हारपछि स्कालोनी भावुक, पत्रकार सम्मेलनमै भक्कानिए


काठमाडौं ।

फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनी पत्रकार सम्मेलनमै भावुक बनेका छन्।

स्पेनसँग अतिरिक्त समयमा १–० को हार बेहोरेपछि पत्रकार सम्मेलनमा कुरा गर्ने क्रममा स्कालोनी पटक–पटक रोकिएका थिए। आफ्ना धारणा राख्ने क्रममा उनी भावुक बनेपछि अन्त्यमा माफी माग्दै पत्रकार सम्मेलन छाडेका थिए।

फाइनलमा स्पेनले खेलभरि नै अर्जेन्टिनामाथि दबाब बनाएको थियो। निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिए पनि अतिरिक्त समयको १०६औँ मिनेटमा फेर्रान टोरेजले गरेको गोलले स्पेनलाई दोस्रो विश्वकप उपाधि दिलायो।

पत्रकार सम्मेलनमा स्कालोनीले आफ्नो भविष्यबारे पनि संकेत गरेका छन्। अर्जेन्टिना फुटबल संघसँगको उनको सम्झौता आगामी डिसेम्बरमा सकिँदै छ। त्यसअघि संघका अध्यक्षसँग छलफल गरेर मात्रै आगामी निर्णय लिने उनले बताए।

‘मेरो मनमा केही सोच छ। सम्झौताको अवधि पूरा हुनेछ। त्यसपछि अध्यक्षसँग बसेर भविष्यबारे छलफल गर्नेछु,’ स्कालोनीले भने, ‘यति ठूलो उपलब्धिलाई फेरि दोहोर्‍याउनु सजिलो छैन। त्यसैले केही समय लिएर सोच्नु आवश्यक छ।’

उनले अर्जेन्टिनाका खेलाडी र प्राविधिक टोलीले प्रतियोगिताभर उत्कृष्ट प्रयास गरेको उल्लेख गर्दै उनीहरूप्रति आभार व्यक्त गरे।

‘हामीले अन्तिम समयसम्म सक्दो प्रयास गर्‍यौं। खेलाडी र सम्पूर्ण प्राविधिक टोलीले आफ्नो जिम्मेवारी पूरा गरे। यो यात्राको हिस्सा बन्न पाएकोमा म आभारी छु,’ उनले भने।

आफूले प्रशिक्षकका रूपमा निरन्तरता दिने वा नदिने विषयमा तत्काल निर्णय नगरेको स्पष्ट पार्दै स्कालोनीले अहिले मानसिक रूपमा विश्राम आवश्यक रहेको बताए।

‘अहिले नै म जारी रहन्छु वा रहन्न भन्न सक्दिनँ। आफूलाई पुनः तयार पार्न र टोलीलाई नयाँ ऊर्जा दिन समय चाहिन्छ,’ उनले भने।

आफ्नो भनाइ टुंग्याएलगत्तै स्कालोनी भावुक बने। आँसु थाम्न नसकेपछि उनले सञ्चारकर्मीसँग माफी माग्दै पत्रकार सम्मेलनबाट बाहिरिएका थिए। -बीबीसीबाट