पुस्तान्तरणको महासंग्राममा अनुभव र ऊर्जाको टक्कर


जारी विश्वकपमा आठ गोल गरिसकेका र सम्भवतः विश्वकपकै अन्तिम म्याच खेल्न गइरहेको लियोनेल मेसी र आफ्नो करियरकोे पहिलो विश्वकपमा नै फाइनलसम्मको यात्रा तय गरेका लामिने यामलबीचको भिडन्त कसैको कल्पनाभन्दा बाहिरको रोचक दृश्य बन्ने निश्चित छ । इतिहासमै दुर्लभ क्षमता र खेल कौशल पस्केर कीर्तिमान र अवार्डबाट शुसोभित अर्जेन्टिनाका निर्विवाद फुटबल नायक मेसी आफ्नो राष्ट्रको १४ खेलको अपराजित यात्रालाई निरन्तरता दिँदै लगातार दोस्रो पटक विश्वकप उचाल्ने लक्ष्यमा छन् ।

उनको अद्वितीय खेल क्षमता, विपक्षीको डिफेन्स चिर्ने दूरदृष्टि र निर्णायक पलहरूमा जादु देखाउने खुबीले गर्दा मेसी नै यस फाइनलमा स्पेनका लागि सबैभन्दा ठूलो चुनौती बनेका छन् । अर्जेन्टिनाको टोलीको आत्माका रूपमा रहेका मेसीको नेतृत्वदायी भूमिका र पछिल्ला खेलहरूमा देखिएको उत्कृष्ट फर्मले समर्थकहरूलाई फेरि एकपटक उनीबाट ऐतिहासिक प्रदर्शनको आशा दिलाएको छ ।

अर्कोतर्फ, स्पेनको १७ खेलको अपराजित यात्रामा ’एक्स–फ्याक्टर’ सावित भएका युवा प्रतिभा लामिने यामलको कठिन परिस्थितिमा पनि विपक्षीलाई छक्याएर बल अगाडि बढाउने निर्भीक क्षमता र सटीक पास दिने शैलीले स्पेनिस आक्रमणलाई निकै धारिलो बनाएको छ । यामलको तीव्र गति र गोल गर्ने कलाले गर्दा उनी यस महाभिडन्तमा स्पेनको सबैभन्दा ठूलो हतियार बनेका छन् । मेसीको अनुभव र यामलको ऊर्जाबीचको यो द्वन्द्वले विश्वकपको फाइनललाई केवल एक फुटबल खेल मात्र नभई पुस्तान्तरणको एउटा महागाथामा परिणत गरिदिएको छ ।