बुटवल ।
सुन्दा पनि अचम लाग्ने तर व्यवहारमा देखिएपछि मान्नैपर्ने घटना बुटवलमा सार्वजनिक भएको छ । सात दशकसम्म नागरिकताविहीन भएर बसेकी बुटवलकी शकुन्तलादेवी सिंहले ७३ वर्षमा बल्ल नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । वर्षौँदेखि बुटवल उपमहानगरपालिका–९ मा बसोबास गर्दै आउनुभएकी शकुन्तला नागरिकताविहीन रहेको थाहा पाएपछि स्थानीय समाजसेवी तथा तिनाउ टोल विकास संस्थाकी अध्यक्षसमेत रहनुभएकी रुपा भण्डारीको करिब साढे तीन महिना लामो मेहनत र सहयोगमा उहाँले नागरिकता प्राप्त गर्नुभएको हो ।
गुल्मी माइत भएकी शकुन्तलाको सप्तरीका सरोवरप्रसाद सिंहसँग २०३५ सालमा विवाह भएको थियो । तर उहाँका पतिको २०४४ सालमा मृत्यु भएको थियो । शकुन्तलाका दुई छोरामध्ये एक छोराको मृत्यु भएको छ भने अर्का छोरा मजदुरी गर्नुहुन्छ । पति र छोराहरूको नागरिकता बने पनि उहाँको नागरिकता बनाउन परिवारका सदस्यले चासो नदिँदा शकुन्तला ज्येष्ठ नागरिक भएर वृद्ध भत्ता खाने उमेरसम्म पनि नागरिकताविहीन हुनुभएको थियो ।
एक छोरासमेत दीर्घ रोगी रहेका र पालनपोषण गर्ने कोही नभएर असहाय बन्नुभएकी शकुन्तलाको दुःख देखेर समाजसेवी रुपा भण्डारीले उहाँको नागरिकता बनाउन आवश्यक पर्ने कागजपत्रहरू जुटाएपछि इलाका प्रशासन कार्यालय बुटवलबाट नागरिकता दिलाउन सफल हुनुभएको हो । शकुन्तलाको नागरिकता बनाइदिन खटेर महत्वपूर्ण योगदान गरेकी रुपा भण्डारी पनि आफ्नो प्रयास सफल भएकामा खुसी लागेको बताउनुहुन्छ ।
इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख श्रीनाथ पौडेलले ७३ वर्षसम्म नेपाली नागरिकताविहीन शकुन्तला गुल्मीको वामी माइती भएको खुले पनि माइती पक्षका सनाखत हुन नसक्दा उहाँले नागरिकता नपाएको अवस्थामा स्थानीय तहको सिफारिस र समाजसेवी रुपा भण्डारीले जुटाएका प्रमाणका आधारमा छोराको सनाखतमा वंशजको आधारमा नागरिकता प्रदान गरिएको सुनाउनुभयो ।
७३ वर्षसम्म नागरिकताविहीन एक ज्येष्ठ नागरिकले नागरिकता नहुँदा राज्यबाट पाउने हरेक प्रकारका सुविधावाट वञ्चित हुन पर्दाको पीडालाई आत्मसात गरी अध्यक्ष रुपा भण्डारीको पहलमा आफूले साथ दिएको राधिका चौधरीले बताउनुभयो छ ।











प्रतिक्रिया