अटिजमको पीडा बोकेको गौँथली आजबाट नेपालसँगै विदेशबाट एकसाथ


निर्देशक डा. कपिल रिजालद्वारा निर्देशित फिल्म गौँथली आज शुक्रवारदेखि नेपालसँगै विभिन्न देशबाट एकसाथ प्रदर्शनमा आउने भएको छ। अटिजम, पारिवारिक सम्बन्ध र नेपाली ग्रामीण समाजको यथार्थलाई केन्द्रमा राखिएको फिल्मले प्रदर्शनअघि नै प्रिमियरबाट सकारात्मक प्रतिक्रिया बटुलेको छ।

राजधानीमा हालै आयोजित प्रिमियरमा फिल्म हेरेका दर्शकले यसको कथावस्तु, प्रस्तुति शैली र कलाकारको अभिनयको खुलेर प्रशंसा गरेका थिए। फिल्मले २०६० सालअघिको नेपाली ग्रामीण समाजमा महिलाले भोग्नुपरेका बाध्यता, पारिवारिक संवेदना र सामाजिक विभेदलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ।

फिल्ममा अभिनेता अरुण क्षेत्रीले अटिजम भएका पात्रको भूमिकामा गरेको अभिनय र अभिनेत्री सिम्रन खड्कासँगको उनको अनस्क्रिन केमेस्ट्रीलाई प्रिमियरमा रुचाइएको छ। पहिलोपटक पर्दामा श्रीमान्–श्रीमतीको भूमिकामा देखिएका अरुण र सिम्रनको जोडीप्रति दर्शकमा विशेष उत्सुकता देखिएको छ। यसअघि महापुरुषबाट चर्चामा आएका अरुण तथा प्रेमगञ्ज, चित्रा र बेहुली फ्रम मेघौलीबाट आप्mनो अभिनय क्षमता प्रमाणित गरिसकेकी सिम्रन अहिले गौँथलीमार्फत नयाँ अवतारमा दर्शकमाझ आएका छन्।

फिल्ममा गौँथलीलाई घर, परिवार र आत्मीय सम्बन्धको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ। अरुण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपाली, बाल कलाकार अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।

डा. भोला रिजालको कथामा निर्देशक डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेको पटकथा र संवाद रहेको फिल्म भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको हो। फिल्ममा शम्भुजीत बाँसकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत, एलिस कार्कीको पाश्र्व संगीत, हरि हुमागाईंको छायाँकन, मिलन श्रेष्ठको सम्पादन, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन तथा रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ।