आजदेखि बृहस्पति अस्त, काम्य कर्म गर्न शास्त्रीय निषेध


काठमाडौं ।

बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म नगर्न नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिका अध्यक्ष प्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार बृहस्पति आज अपराह्न १२ः५५ बजे पश्चिममा अस्त भएका छन्। अब उनी साउन २४ गते अपराह्न १२ः२४ बजे पूर्वमा उदाउनेछन्।

शास्त्रीय मान्यताअनुसार बृहस्पति र शुक्र अस्त भएका बेला स्नान, पञ्चायन पूजा, जातकर्म तथा दिवंगत व्यक्तिको काजकिरियाजस्ता नित्य र नैमित्तिक कर्म मात्र गर्न मिल्छ। कुनै विशेष कामना राखेर गरिने पूजा, अनुष्ठान वा अन्य धार्मिक कर्म भने निषेध गरिएको छ।

धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार बृहस्पति र शुक्र अस्त हुँदा गरिएका काम्य कर्मको फल यजमानले प्राप्त नगर्ने शास्त्रीय मान्यता छ। यी दुवै ग्रह अस्त हुनुभन्दा तीन दिनअघि र उदाएको तीन दिनपछिसम्म पनि यस्ता कर्म गर्न उपयुक्त मानिँदैन।

यस अवधिमा दान, महादान, गोदान, गृहारम्भ, गृहप्रवेश, सप्ताह, नवाह, सत्यनारायण पूजा, रुद्री पूजा, लाखबत्ती बाल्नेलगायत काम्य धार्मिक कर्म नगर्न समितिले आग्रह गरेको छ।

समितिका अनुसार बृहस्पति र शुक्र अस्त रहने समयका कारण यस वर्ष माघ, फागुन र चैत महिनामा विवाह तथा व्रतबन्धका शुभ लग्नसमेत नपर्ने जनाइएको छ।