पहिरोले पृथ्वी राजमार्ग पूर्णरूपमा अवरूद्ध


काठमाडौँ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिक तिग्राङ खानी क्षेत्रमा निरन्तर पहिरो खसिरहेपछि पृथ्वी राजमार्ग पूर्णरूपमा बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार साँझ सूचना जारी गर्दै पहिरोका कारण राजमार्ग दुईतर्फी अवरुद्ध भएको र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्मका लागि सबै प्रकारका सवारी साधनको आवागमन रोकिएको जनाएको हो ।

प्रशासनका अनुसार उक्त क्षेत्रमा लगातार पहिरो खस्ने क्रम नरोकिएकाले सडक अत्यन्त जोखिमपूर्ण बनेको छ । सम्भावित मानवीय तथा भौतिक क्षति रोक्न सावधानीस्वरूप राजमार्ग बन्द गर्ने निर्णय गरिएको प्रशासनले स्पष्ट पारेको छ ।

प्रशासनले काठमाडौं भित्रिने तथा बाहिरिने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दै सम्बन्धित निकायबाट जारी हुने सूचना पालना गर्न अनुरोध गरेको छ ।

यात्रु, सवारी चालक तथा सरोकारवालालाई आवश्यक जानकारी तथा समन्वयका लागि नेपाल प्रहरीको हटलाइन नम्बर १००, सशस्त्र प्रहरी बल नेपालको नम्बर १११४ तथा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको नम्बर १२३४ मा सम्पर्क गर्न पनि प्रशासनले आग्रह गरेको छ ।

पृथ्वी राजमार्ग देशकै प्रमुख यातायात मार्गमध्ये एक भएकाले यसको अवरोधले काठमाडौं–पोखरा तथा पश्चिम नेपालतर्फ आवतजावत गर्ने हजारौं यात्रु प्रभावित हुने अनुमान गरिएको छ।