अन्नपूर्ण स्पाइकर किङ्सको ब्रान्ड एम्बासडरमा उषा भण्डारी


काठमाडौं ।

नेपाल भलिबल लिग (एनभीएल) को बहुप्रतिक्षित फ्रेन्चाइज टोली ‘अन्नपूर्ण स्पाइकर किङ्स’ ले नेपाली महिला भलिबलको शान, स्टार आउटसाइड हिटर उषा भण्डारीलाई आफ्नो ब्रान्ड एम्बासडरका रूपमा अनुबन्ध गरेको छ । 

सुमिरा स्पोर्ट्स भेन्चरको स्वामित्वमा रहेको यस टोली र भण्डारीबीच भएको तीन वर्षको यो ऐतिहासिक सम्झौताले व्यावसायिक भलिबल र खेलाडीको सम्मानलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ । सम्झौताअनुसार, उषाले टोलीको ब्रान्ड प्रवर्द्धनका साथै ग्रासरुट तहमा नयाँ प्रतिभा उत्पादन गर्न क्लबसँग हातेमालो गर्नेछिन् । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर किङ्स र तनहुँमा जन्मिएकी उषाबीचको यो सहकार्यलाई खेलप्रेमीहरूले ‘सुनमा सुगन्ध’ का रूपमा लिएका छन् । टोलीका सह–मालिक सुबोध त्रिपाठीले राष्ट्रिय खेलको विकास र कभर्डहलमा दर्शकको क्रेज बढाउन यो कदम निकै प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् । 

यता, भलिबलकै लिगमा पहिलो पटक ब्रान्ड एम्बासडर बन्न पाउँदा भावुक बनेकी उषाले फुटबल र क्रिकेटको तुलनामा आफ्नो खेलप्रति थप गर्व महसुस भएको बताएकी छिन् । १४ वर्षको कलिलो उमेरमै १३औँ सागबाट अन्तर्राष्ट्रिय मञ्चमा डेब्यु गरेकी उषाले सन् २०२२ को एभिसी सेन्ट्रल जोनमा स्वर्ण पदक र हालैका काभा प्रतियोगिताहरूमा देखाइरहेको उत्कृष्ट प्रदर्शनले उनलाई नेपाली भलिबलको पर्याय बनाएको छ । माल्दिभ्सको व्यावसायिक लिगमा समेत आफ्नो छाप छाडिसकेकी उषाको यस नयाँ भूमिकाले केडिया ग्रुपको आयोजनामा हुन लागेको नेपाल भलिबल लिगलाई थप गरिमामय र आकर्षक बनाउने निश्चित छ।