पुलको रिडिजाइन र भुक्तानी प्रक्रिया मिलाइदिने भन्दै ६ लाख घुस लिने इन्जिनियर पक्राउ


काठमाडौं ।

इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौँ तह) डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका छन्।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा निर्माण कम्पनीको ठेक्काबापतको भुक्तानी प्रक्रिया सहज बनाइदिने भन्दै खड्काले सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस मागेको उजुरी परेको थियो।

उक्त उजुरीका आधारमा अनुसन्धान अघि बढाएको अख्तियारको टंगालस्थित केन्द्रीय कार्यालय र इटहरी कार्यालयको संयुक्त टोलीले बुधबार खड्कालाई घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।

अख्तियारका प्रवक्ता न्यौपानेले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए। अनुसन्धान पूरा भएपछि भ्रष्टाचार निवारण ऐनअनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।