बुटवल।
बुटवल उपमहानगरपालिका वडा नम्बर–६, नेपालगन्ज रोडस्थित एक पसलबाट नक्कली नेपाली नोटसहित नोट छाप्न प्रयोग हुने उपकरण र ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ का ३६ वर्षीया गंगाकुमारी पूर्वछाने, कास्कीको पोखरा महानगरपालिका–१ निवासी किरणकृष्ण तिवारी (कृष्ण), कपिलवस्तुको बाणगंगा नगरपालिका–१ का सञ्जय थारू, भक्तपुरको चाँगुनारायण नगरपालिका–१ का ४१ वर्षीय रामचन्द्र खत्री, दोलखाको शैलुङ गाउँपालिका–४ का ३८ वर्षीय पासाङ तामाङ र भारतको पश्चिम बंगाल राज्य, सिलिगुडीस्थित भक्तिनगर थाना क्षेत्रका ४९ वर्षीय वासुमित्र आनन्द छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवस्तवका अनुसार पक्राउ परेकाहरूको घर तथा कोठामा गरिएको खानतलासीका क्रममा एक हजार रुपैयाँ दरका ६२२ थान नक्कली नेपाली नोट बरामद भएको छ । बरामद नोटको कुल मूल्य ६ लाख २२ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।
फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने कागज एक कार्टुन, लेमिनेसन मेसिन, विभिन्न रासायनिक पदार्थ (केमिकल), प्लास्टिक पेपर, नक्कली नोट काट्ने मेसिन तथा ६ थान मोबाइल फोन पनि बरामद गरिएको छ ।प्रहरीले पक्राउ परेका सबैविरुद्ध मुद्रासम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।











प्रतिक्रिया