लगातार तेस्रो जितसँगैं नेपाल क्वार्टरफाइनलमा

कप्तान सोनीको अलराउन्ड प्रदर्शन


काठमाडौं ।

नेपाल लगातार तीन खेलमा फराकिलो जित हात पार्दै मलेसियामा जारी एसीसी महिला यू १९ प्रिमियर कपको क्वार्टरफाइनलमा पुगेको छ । लगातार तेस्रो जितसँगै समूह ’डी’ विजेताका रुपमा नेपाल अन्तिम आठमा पुगेको हो ।

मंगलबार भएको आफ्नो तेस्रो खेलमा नेपालले हङकङलाई १ सय ८१ को रनअन्तरले हराएको हो । यसअघिका खेलहरूमा नेपाली टोलीले कतारलाई १ सय ५ र सिंगापुरलाई १ सय ५१ रनले हराएको थियो ।

नेपालको जितमा कप्तान सोनी पाखरिनको प्रदर्शन उत्कृष्ट रह्यो । उनले अलराउन्ड प्रदर्शन गर्ने क्रममा ब्याटिङमा ९० रन बनाइन् भने बलिङमा ४ विकेट लिन सफल भएकी थिइन् ।

सोनी र सावित्री धामीको अर्धशतकको सहयोगमा नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २० रन बनाएको थियो । सोनीले आक्रमक ब्याटिङ गर्दै ६० बलमै ९० रन बनाइन् । तर, उनले शतक भने प्रहार गर्न सकिनन् । उनले १३ चौका र १ छक्का प्रहार गरेकी थिइन् ।
सावित्रीको भने यो लगातार तेस्रो अर्धशतक थियो ।

उनले ३६ बलमा ६ चौकाको सहयोगमा ५२ रन जोडिन् । उनको यो लगातार तेस्रो अर्धशतक थियो । यसअघि उनले कतार र सिंगापुरविरूद्ध पनि अर्धशतकीय इनिङ खेलेर नेपालको जित सुनिश्चित गरेकी थिइन् ।

जितको लागि २ सय १२ रनको विशाल लक्ष्य पछाएको हङकङ २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ३९ रनमा समेटिएको थियो । टोलीका लागि वोङ विङले १३ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको बलिङमा सोनीले ४ ओभरमा ४ रन मात्र दिएर ४ विकेट लिइन् । मनिषा उपाध्यायले २, कृष्मा गुरुङ र स्नेहा महराले समान १ विकेट आफ्नो नाममा लेखाए ।