पोखरा । वि.सं. २०६१ माघ १९ गते पोखरा बसपार्कमा डोजर चल्यो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा गरिएको जग्गा अधिग्रहणपछि पीडित बनेका जग्गावालालाई जग्गा दिनका लागि डोजर चलेको थियो । विमानस्थल निर्माणका लागि पोखरा बसपार्कको जग्गामा ल्याएर उनीहरुलाई थम्थम्याइयो । २०६१ माघदेखि २०६३ वैशाखसम्म सट्टाभर्नाबापत जग्गा वितरण भयो । पञ्चायतले एयरपोर्ट अघिल्तिरबाट सारेका व्यापारीलाई सहुलियत दरमा घडेरी बिक्री गरेको थियो ।
बसपार्कको लागि छुट्याइएको जग्गा सट्टाभर्नाबापत २० रोपनी ५ आना २ पैसा २ दाम जग्गा बाँडियो । त्यस्तै, १६ रोपनी १४ आना १ पैसा ३ दाम बसपार्ककै जग्गा ७४ जनालाई सहुलियत दरमा बिक्री गरियो । ५१ वर्षअघि पञ्चायतकालमा शुरू भएको पोखरा बसपार्क निर्माणको काम अझै हुन सकेको छैन । बसपार्कको लागि अधिग्रहण गरिएको जग्गामा निर्माणको काम हैन, नीतिगत भ्रष्टाचार र अतिक्रमण भएको छ । बसपार्कको लागि अधिग्रहण गरिएको २०५ रोपनी जग्गा पनि अब त करिब ४७ रोपनी मात्र बाँकी छ ।
२०३१ सालमा शंकरराज पाठक गण्डकी अञ्चलको अञ्चलाधीश रहेका बेला पोखरा उपत्यका नगर विकास समितिले यही पृथ्वीचोकमा बसपार्क बनाउने गुरुयोजना तयार पारेको थियो । बसपार्कका लागि जग्गा प्राप्ति ऐन, २०१८ अनुसार १८ फागुन २०३२ मा राजपत्रमा सूचना प्रकाशित गरी पूर्वमा सेती नदीको डिल, पश्चिममा पृथ्वी राजमार्गबाट विमानस्थल जाने गोरेटो, उत्तरमा पृथ्वी राजमार्ग र दक्षिणतर्फ सेतीगण्डकी चार किल्ला तोकेर २०५ रोपनी जग्गा अधिग्रहण गरियो । अधिग्रहण गरिएको उक्त जग्गामा ट्रायल चेक गर्दा ८ रोपनी ४ आना २ पैसा ३ दाम कम देखियो । पृथ्वी राजमार्ग विस्तारको क्रममा थप ८ रोपनी ३ आना १ पैसा २ दाम जग्गा कटौती भयो । त्यसपछि बसपार्क बनाउन १८८ रोपनी ७ आना ३ पैसा ३ दाम जग्गा रहेको विभिन्न प्रतिवेदनले देखाउँछ ।
पछिल्लो समय पोखरा बसपार्क बन्ने चर्चाका बीच हालै पुनः डोजर चलाइएको छ । २२ वर्षअघि एयरपोर्टबाट हटाइएकालाई सहजताका लागि डोजर चलेको थियो भने अहिले बसपार्क बनाउनका लागि । उक्त स्थानमा तत्कालीन समयमा सुकुम्बासी नै बसेका थिए । उनीहरुलाई हटाएर त्यहाँको संरचनामा डोजर लगाइएको थियो । हाल त्यहाँका सुकुम्बासी त्यसैको पारि सहारा टोल (अहिलेको ट्राफिक कार्यालयअघि) बसेका छन् ।
अग्रज फोटोपत्रकार सुदर्शन रञ्जितले उक्त समयमा समेत त्यहाँ डोजर चलेको पहिलो र अहिले फरक रहेको बताउनुभयो । ‘पहिला त्यहाँबाट सुकुम्बासी हटाएर एयरपोर्टको जग्गावालालाई राख्नका लागि डोजर चलेको थियो । अहिले बसपार्क बनाउनकै लागि डोजर चलेको छ, यो खुशीको कुरा हो’, उहाँले भन्नुभयो ।
पोखरा महानगरपालिकाले डोजर चलाएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बसपार्क बन्दैन कि भन्ने कसैले पनि शंका नराख्न आग्रह गर्दै आधा शताब्दीदेखि पोखरा महानगरपालिकाभित्रको सिटी बसपार्क बन्छ वा बन्दैन, कहिले बन्छ भन्ने धेरै द्विविधाको अन्त्य भएको बताउनुभयो । त्यहाँ भएका जग्गाधनीहरू, वर्षौंदेखि बसेका र सुकुम्बासी क्षेत्रमा बसेका पोखरावासीको साथ र सहयोगका कारण आज बसपार्क बनाउने मार्ग प्रशस्त खुला भएको उहाँको भनाइ छ ।
‘सबै राजनीतिक दल, स्थानीय प्रशासन मिलेर पोखरा बसपार्क– यो आधा शताब्दीदेखि देखेको सपनाचाहिँ अब पूरा गर्दै छौँ । अगाडिको खाली भाग हटाउन शुरु भएको र भित्र सुकुम्बासी बस्तीका ५७२ जनाले फारम भरेकामा छानबिनको क्रममा रहेको छ’, मेयर आचार्यले भन्नुभयो । छानबिन नसकिएकाले केही दिन म्याद थपिएको र उनीहरुका लागि कहाँ व्यवस्थापन गर्ने भन्नेमा पनि महानगरले काम गरिरहेको आचार्यले सुनाउनुभयो ।
‘सुकुम्बासीभित्र, बस्तीभित्र बस्नुभएका साथीहरूको उचित व्यवस्थापन हुन्छ । व्यवस्थापनको साथै बसपार्क बन्ने काम पनि शुरु हुने भएकाले हामीले यी खाली भएका ठाउँमा डोजर लगाएका छौं, यो जारी रहन्छ’, उहाँले भन्नुभयो ।
पोखरा बसपार्क क्षेत्रमा ५७२ भूमिहीन दलित र सुकुम्बासी परिवारले बसोबास गरिरहेका छन् । करिब साढे ४ सय घरधुरी रहेको अनुमान गरिए पनि महानगरपालिकाले सुकुम्बासी पहिचान र व्यवस्थापनका लागि आवेदन माग गर्दा ५७२ जनाले आवेदन दिएका छन् । वैकल्पिक जग्गाको पहिचानका लागि पोखरा महानगरपालिका वडा नं. १७ का वडाध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा जग्गा खोजी समिति गठन गरिएको छ । सो समितिले सुकुम्बासीहरूलाई स्थानान्तरण गर्न पोखराका ६ वटा विभिन्न स्थानमा जग्गा सिफारिस गरेको छ ।











प्रतिक्रिया