नाइट जिप सफारी : जंगलको मौनता, झिसमिसे साँझ र नयाँ अनुभव

0
Shares

चितवन । दिनभर पर्यटकको चहलपहलले व्यस्त रहने सौराहा साँझ पर्न थालेसँगै बिस्तारै शान्त हुँदै थियो । आकाशमा घामका अन्तिम किरणहरू धमिलिँदै थिए । पश्चिमतिर रातो र सुनौलो रङ्ग मिसिएको आकाशले साँझलाई अझ आकर्षक बनाएको थियो । त्यही परिवेशमा हामी भने एउटा फरक अनुभवका लागि तयार हुँदै थियौँ, जंगलको रात नजिकबाट महसुस गर्न ।

बेलुकी करिब ६ः३० बजेतिर सौराहास्थित पार्क सफारी रिसोर्टबाट हामी दुईवटा जिपमा चढ्यौँ । हाम्रो टोलीमा २० जनाभन्दा बढी पत्रकार, होटल व्यवसायी र बागमती प्रदेशका संस्कृति तथा पर्यटन सचिव दीपेन्द्र सुवेदी सहभागी हुनुहुन्थ्यो । सबैको मनमा एउटा साझा उत्सुकता थियो– रात पर्दै जाँदा जंगलको रुप कस्तो रहला ?

जिप सफारी गर्नु भनेको जंगलमा जनावर हेर्नमात्र जाने नभएर प्रकृति, पर्यावरणसँग साक्षातकार गर्दै अनुपम आनन्द लिनु हो । यो वरण्डाभार जैविक मार्गअन्तर्गतको जंगल थियो । शुरुवाती क्षणमै वातावरण परिवर्तन भएको महसुस भयो । शहरको कोलाहल हराइसकेको थियो । त्यहाँ केवल जंगल थियो– रुखहरूको घेराबन्दी, हावासँग हल्लिने पातहरूको सुस्केरा र किराहरूको निरन्तर आवाज । कतै चउर र कतै उघारो मैदानले हामीलाई स्वागत गरिरहेका थिए ।

अँध्यारो गाढा हुँदै जाँदा जिपको बत्तीले मात्र बाटो चिर्दै अगाडि बढिरहेको थियो । जिपभित्र बसेकाहरूको नजर भने जंगलका दुवैतर्फ दौडिरहेका थिए । कतै कुनै वन्यजन्तु देखिन्छ कि भन्ने उत्सुकता सबैमा थियो । बीच–बीचमा जिप रोकिन्थ्यो । कसैले टाढा केही हलचल भएको देख्थ्यो, कसैले आवाज सुनेको अनुमान गथ्र्यो । त्यो क्षणमा जंगलको शान्तता नै अझ रोमाञ्चक लागिरहेको थियो ।

अँध्यारोमा जिपको बत्तीले अलि पर मृग र हरिण देखियो । तिनीहरु एकछिन् नाचे । हामीलाई बाटो छोडेर रुखहरुको छेल परे । अझ अलि पर पुगेपछि एक हुल मृग अनि सुन्दर भाले जरायो समूहमा थिए । हामीलाई देखेर एकछिन् नाचे अनि स्वागत गरेपछि पाखा लागे ।
सन्ध्याकालीन गाइड सरोज खनालले यात्राको बीचमै भने, ‘जनावर हेर्न मात्रै नभएर प्रकृतिको आनन्द लिन बेलुकीपखको यो जंगल सफारीले पर्यटकलाई लोभ्याउने आशा छ ।’ उनको भनाइ सुन्दा लाग्थ्यो, यो यात्रा वन्यजन्तु हेर्ने प्रयास मात्र होइन, जंगललाई फरक समय र फरक अनुभूतिमा महसुस गर्ने अवसर पनि रहेछ ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटन सचिव दीपेन्द्र सुवेदीले नाइट सफारीलाई नेपालको पर्यटन क्षेत्रमा नयाँ उत्पादनका रूपमा विकास गर्ने सोच रहेको बताए । उनका अनुसार चितवनको पर्यटनलाई राष्ट्रिय निकुञ्जभित्र मात्र सीमित नराखी सामुदायिक वनसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ ।

पञ्चकन्या, चर्तुमुखी र भीमवली सामुदायिक वनले संयुक्तरूपमा करिब ३० किलोमिटर लामो जंगल मार्ग तयार गरी परीक्षणका रूपमा नाइट जिप सफारी शुरु गरेका हुन् । संरक्षणको प्रभावले यस क्षेत्रमा गैँडा, चितुवा, बाघ, जरायो, चित्तल, भालु र बँदेलजस्ता वन्यजन्तु देखिने सम्भावना रहेको बताइन्छ ।

वन संरक्षणसँगै स्थानीय समुदायको आर्थिक अवस्थालाई जोड्ने उद्देश्य पनि यस अभियानसँग गाँसिएको छ । होटल व्यवसायीहरूले समेत पर्यटकलाई नाइट सफारीमा लैजाने प्रतिबद्धता जनाएपछि सामुदायिक वनका पदाधिकारी उत्साहित देखिएका छन् ।

रात अझ गाढा हुँदै थियो, जंगल अझ रहस्यमय बन्दै थियो । तर त्यो यात्राले एउटा कुरा भने स्पष्ट बनाइसकेको थियो– अब चितवन केवल दिनको जंगल सफारीमा सीमित रहने छैन । यहाँको साँझ र रातले पनि पर्यटकलाई नयाँ अनुभव दिन सक्ने संकेत देखाउन थालेको छ ।