समाजमा रचनात्मक दृष्टिकोण वा आफ्नो फरक परिचय बनाएर स्थापित हुनुको सट्टा, अरूको आलोचना र विरोध गरेरै चर्चामा आउन सकिन्छ भन्ने भ्रम केही मानिसमा देखिन्छ । यससँगै, हाम्रो परम्परागत र अभ्यस्त मानसिकताले नयाँ तथा नौलो अभ्यास वा थालनीलाई सहर्ष स्वीकार गर्न सक्दैन ।
प्रसङ्ग हो– हप्तामा दुईदिने सार्वजनिक बिदाको । यस विषयमा नेपाली समाजमा फरक–फरक दृष्टिकोण र रोचक विरोधाभासहरू पाइन्छन् । एकथरी अभिभावक ‘आइतबार पनि विद्यालय पठाउन पाए ढुक्क हुन्थ्यो’ भन्नुहुन्छ । तर अचम्मको कुरा, उहाँ आफैँलाई भने आफ्नो कार्यालयमा आइतबारकै बिदा चाहिएको हुन्छ ! अर्कोथरी अभिभावक भने आइतबारको बिदाप्रति निकै सन्तुष्ट हुनुहुन्छ । उहाँहरूका अनुसार यो बिदाले गर्दा बाबुनानीहरूसँग गुणस्तरीय समय बिताउन पाइएको छ, उनीहरूको पढाइबारे बुझ्न सजिलो भएको छ र आफन्तसँगको भेटघाटले सामाजिकीकरणका साथै विभिन्न ठाउँको भ्रमण गराउने अवसर मिलेको छ ।
वास्तवमा, आधुनिक विश्व श्रमबजार तीव्र गतिमा परिवर्तन भइरहेको छ । अहिले विश्वका १५० भन्दा बढी मुलुकहरूमा हप्तामा दोहोरो बिदा (पाँचदिने कार्यहप्ता) प्रणाली न्यूनतम मापदण्ड बनिसकेको छ भने कतिपय विकसित देशहरू त चारदिने कार्यहप्ता (तीन दिन बिदा) को समेत सफल परीक्षण गरिरहेका छन् । केही ख्यातिप्राप्त विश्वव्यापी कम्पनीहरूले त यसलाई लागू नै गरिसकेका छन् । तर, नेपालमा अझै पनि हप्तामा ६ दिन काम गर्ने पुरानो र थकित प्रशासनिक परिपाटीलाई नै निरन्तरता दिने जोड गरिँदै छ ।
विगतमा (विशेष गरी २०७९ सालमा) नेपाल सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने र विदेशी मुद्रा सञ्चिति जोगाउने उद्देश्यका साथ ठोस तयारीविना हतारमा दुईदिने बिदा लागू गर्दा केही व्यावहारिक कठिनाइ उत्पन्न भए र एक महिनामै उक्त निर्णय फिर्ता लिनुप¥यो । तर, एकपटकको प्राविधिक असफलताको अर्थ यो अवधारणा नै गलत थियो भन्ने होइन । निर्णय लिने व्यक्ति वा संस्थाले हचुवाका भरमा भन्दा पनि दीर्घकालीन योजनाका साथ यसलाई हेर्नुपर्छ । मुख्य प्रश्न यहाँनेर हो– ६ दिनमा हुने कार्य पाँच दिनमै सम्पन्न गराउन सक्ने ल्याकत र योजना छ भने यसले निरन्तरता पाउनुको विकल्प छैन । विश्वका करिब २०० राष्ट्रहरूमध्ये १५० देशमा यो व्यवस्था प्रभावकारीरूपमा चलिरहेको छ भने नेपालमा किन सम्भव छैन ? वास्तवमा, यसको विरोध सबैभन्दा पहिले तिनै व्यक्तिहरूले गर्दछन्, जसले ६ दिन खुला हुँदा पनि बिरलै काम गर्छन् ।
दुईदिने बिदा किन आवश्यक छ ?
हप्तामा दुई दिन बिदा दिनु केवल ‘आराम गर्ने’ विषय मात्र होइन, यसलाई निरपेक्षरूपमा भन्दा पनि सापेक्षिक ढङ्गले हेर्नु आवश्यक छ । यसका मुख्य आर्थिक, सामाजिक र स्वास्थ्यगत औचित्यहरू निम्नलिखित छन्–
१. मानसिक स्वास्थ्य सुधार ः लगातार ६ दिन काम गर्दा कर्मचारी र कामदारहरूमा अत्यधिक मानसिक तनाव, शारीरिक थकान र ऊर्जाको कमी हुन्छ । हप्तामा दुई दिन बिदा पाउँदा मस्तिष्कले पूर्णरूपमा आराम पाउँछ, जसले गर्दा मानसिक रोग, डिप्रेसन र एन्जाइटीजस्ता समस्याहरू कम हुन्छन् ।
२. साधन, स्रोत र इन्धनको बचत ः सबै सरकारी, अर्ध–सरकारी र निजी कार्यालयहरू हप्तामा दुई दिन बन्द हुँदा सरकारी गाडीहरूको इन्धन, कार्यालयका एसी, बिजुली, पानी र प्रशासनिक खर्चमा उल्लेख्य कटौती हुन्छ । यसले राष्ट्रिय रूपमा अर्बौं रुपैयाँको इन्धन आयात घटाई देशको वैदेशिक मुद्रा सञ्चितिमाथिको दबाब घटाउँछ ।
३. कार्य–जीवन सन्तुलन र पारिवारिक सामाजिकीकरण ः ६ दिनको व्यस्त दैनिकीले गर्दा मानिसहरूले आफ्नो व्यक्तिगत जीवन र परिवारका लागि समय निकाल्न पाउँदैनन् । दुई दिनको बिदाले व्यावसायिक र व्यक्तिगत जीवनबीच सुन्दर सन्तुलन कायम गर्छ । यसले आमाबाबु, जीवनसाथी र छोराछोरीसँग गुणस्तरीय किसिमले समय बिताउन सम्भव बनाउँछ, पारिवारिक कलह घटाउँछ, वृद्ध अभिभावकको हेरचाह गर्न समय मिल्छ र सामाजिक सम्बन्धलाई मजबुत बनाउँछ ।
४. बालबालिकाको चौतर्फी विकास र विद्यालय उपस्थिति ः विद्यालय जाने केटाकेटीहरू ६ दिनको पढाइको बोझले थाकेका हुन्छन् । हप्तामा दुई दिन बिदा हुँदा उनीहरूले गृहकार्य मात्र गर्ने होइन, खेलकुद, संगीत, कला र अतिरिक्त क्रियाकलापमा भाग लिन पाउँछन् । नेपालमै पनि हप्तामा दुई दिन बिदा दिने विद्यालयहरू पहिलेदेखि सञ्चालनमा थिए, जसको सिकाइ, पाठ्यक्रम व्यवस्थापन र परीक्षाको नतिजा उत्कृष्ट आइरहेको थियो । ६ दिन पढाउनेहरूको हबिगत पनि हामीले देखेकै छौँ । तसर्थ, पुनर्ताजगीले विद्यार्थी र कर्मचारी दुवैको उपस्थिति एवं कार्यसम्पादन सन्तोषजनक बनाउँछ ।
५. कार्यस्थलमा उत्पादकत्व वृद्धि ः ऐतिहासिक रूपमा सन् १९२६ मा कार निर्माता हेन्री फोर्डले आफ्नो कम्पनीमा हप्तामा ५ दिन (४० घण्टा) मात्र काम गर्ने र दुई दिन बिदा दिने नियम बसालेका थिए । उनले के फेला पारे भने, धेरै घण्टा कुर्सीमा बसाल्नुभन्दा निश्चित समय आराम दिएर काम गराउँदा कामदारको उत्पादकत्व झन् बढ्छ । दुई दिन ऊर्जा रिचार्ज गरेर सोमबार कार्यस्थलमा फर्कने कर्मचारीहरू बढी केन्द्रित, सिर्जनशील र जाँगरिला हुन्छन् । यसले हप्ताको बीचमा घरायसी कामको बहाना बनाएर बिदा लिने मानसिकतामा समेत कमी ल्याउँछ ।
६. आन्तरिक पर्यटनको विकास ः लगातार दुई दिन बिदा हुँदा मानिसहरू आ–आफ्नो क्षेत्र वरपरका पर्यटकीय स्थलहरूमा छोटो भ्रमणमा निस्कन सक्छन् । यसले होटल, रेस्टुरेन्ट, यातायात र स्थानीय व्यवसायलाई समर्थन गर्दै ग्रामीण अर्थतन्त्रलाई ठूलो गति दिनेछ ।
७. वातावरणीय सुधार र क्षमता विकासको अवसर ः हप्ताको दुई दिन सडकमा सवारीसाधनको चाप घट्दा वायु प्रदूषण र ट्राफिक जामको समस्या कम हुन्छ अनि शहरले ‘सास फेर्न’ पाउँछ । साथै, कर्मचारी र युवाहरूले यो समयलाई सेमिनार, तालिम, कार्यशाला आयोजना गर्न वा नयाँ सीप र अध्ययनका लागि सहजै उपयोग गर्न सक्छन् ।
विगतका चुनौती र सृजित समस्या
हरेक नयाँ अभ्यासले शुरुमा केही चुनौतीहरू लिएर आउँछ । विगतको अनुभवका आधारमा दुईदिने बिदाका केही व्यावहारिक समस्याहरू निम्नानुसार रहेका थिए–
● सार्वजनिक सेवामा सास्ती ः अनलाइन सेवा पूर्ण नभएका कारण मालपोत, यातायात, राहदानी र नागरिकता बनाउने अड्डामा सेवाग्राहीको अत्यधिक भीड हुन थाल्यो र सेवा प्रवाहमा अवरोध आयो ।
● स्वास्थ्य र शिक्षा क्षेत्रमा असर ः सरकारी अस्पतालका ओपीडी सेवा बन्द हुँदा टाढाबाट आएका गरिब बिरामीहरू मर्कामा परे । विद्यालयहरूमा शैक्षिक क्यालेन्डर र पाठ्यक्रम समयमै नसकिने डर देखियो ।
● आर्थिक तथा व्यावसायिक भार ः दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूको कमाइ रोकिने तथा निजी उद्योगहरूमा उत्पादन घट्ने वा श्रमिकलाई अतिरिक्त भत्ता दिनुपर्ने समस्या देखियो ।
चुनौतीहरू हल गर्ने उपाय
हरेक समस्याले आफैँसँग समाधान पनि लिएर आउने गर्दछ, मात्र विषय नियतको हो । किनभने चाहना र बहानाबीच फरक छ । सरोकारवालाहरूले चाहेमा असम्भव केही छैन । आगामी दिनमा यसलाई सफल बनाउन निम्न उपायहरू अपनाउनुपर्छ–
सरकारी सेवा र स्वास्थ्यमा ‘सिफ्ट प्रणाली’ ः नागरिकको काम र उपचार नरोकिओस् भन्नका लागि सरकारले कर्मचारी तथा स्वास्थ्यकर्मीहरूलाई दुई वा तीनवटा सिफ्टमा विभाजन गरी सरकारी कार्यालय र अस्पतालका ओपीडी सेवाहरू हप्ताको सातवटै दिन वा ६ दिन खुला राख्नुपर्छ । कर्मचारीले भने आलोपालोअनुसार हप्ताको कुनै पनि दुई दिन बिदा पाउने व्यवस्था मिलाउनुपर्छ ।
डिजिटल र अनलाइन सेवाको तीव्र विस्तार ः हाम्रा केही सरकारी कार्यालयहरूलाई नियालेर हेरौँ न, विगतमा दिनभरि सेवाग्राहीलाई सास्ती दिएर, दलाललाई पैसा खुवाएर दुई दिनमा हुने काम आजभोलि कसरी प्रविधिको प्रयोगले दुई घण्टामै सम्पन्न हुन थाल्यो ? तसर्थ, सानातिना सिफारिस, दस्तुर भुक्तानी र फारम बुझाउने काम पूर्णरूपमा अनलाइन गरेमा सार्वजनिक बिदाले जनताको काममा कुनै बाधा पु¥याउँदैन ।
‘कम्प्याक्ट’ पाठ्यक्रम र नतिजामुखी कार्यसम्पादन ः विद्यालयहरूमा पाठ्यक्रमको अनावश्यक सैद्धान्तिक बोझ घटाई परियोजनामा आधारित सिकाइमा जोड दिनुपर्छ । त्यस्तै, कार्यालयमा ‘कति घण्टा बिताइयो’ भन्दा पनि ‘कति काम फत्ते गरियो’ भन्ने आधारमा नतिजामुखी कार्यसम्पादन सूचक लागू गरेमा पाँच दिनमै ६ दिन बराबरको काम सहजै सम्पन्न हुन सक्छ ।
आधुनिक सोच
हप्तामा दुई दिन बिदा दिने प्रावधान कुनै पश्चिमा फेसन वा अल्छीपनको उपज होइन । यो त मानवश्रमको सम्मान, नागरिकको सुखी जीवन र मुलुकको आधुनिकीकरणको सूचक हो । विगतको एक असफलता वा पूर्वाधारको अभावबाट डराएर हामी पुरानै रुढिवादी र थकित श्रम प्रणालीमा अल्झिरहनुहुँदैन ।
अबका दिनमा राज्यले स्पष्ट गृहकार्य, डिजिटल पूर्वाधारको विकास र सेवा प्रवाहमा ‘सिफ्ट प्रणाली’ लागू गरेर दुईदिने बिदाको नीतिलाई व्यवस्थित रूपमा पुनः निरन्तरता दिनु आवश्यक छ । हामी आम नागरिकले पनि यो बिदालाई केवल ‘सुतेर वा सामाजिक सञ्जालमा’ बिताउने नभई परिवार, स्वास्थ्य, आत्म–सुधार र आन्तरिक पर्यटनमा खर्च गरेर यसलाई देशको समृद्धिसँग जोड्ने बानी बसाल्नुपर्छ । जब देशका नागरिक शारीरिक र मानसिक रूपमा स्वस्थ र खुशी हुन्छन्, तब मात्र देशको विकासले सही गति लिन सक्छ । आऔँ, आधुनिक कार्य–संस्कृतिको स्वागत गरौँ, दुईदिने बिदालाई उत्पादनमूलक बनाऔँ ।
(लेखक जोशी शिक्षाकर्मी हुनुहुन्छ ।)











प्रतिक्रिया