काठमाडौं ।
कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेसका चार मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। यससँगै एमाले नेतृत्वको कर्णाली सरकार संकटमा परेको छ भने प्रदेशको सत्ता समीकरण फेरिने संकेत देखिएको छ। राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी रहेका छन्।
मन्त्री सुरेश अधिकारीका अनुसार सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमै चारै मन्त्रीले आफ्नो राजीनामा पत्र मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएका हुन्। कांग्रेसले सरकारबाट बाहिरिने निर्णयको मुख्य कारण एमालेले सत्ता साझेदारीसम्बन्धी पूर्वसहमति कार्यान्वयन नगरेको जनाएको छ। मन्त्री अधिकारीले भने, “सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो। तर एमाले त्यसमा इमान्दार नभएकाले हामीले सामूहिक रूपमा राजीनामा दिएका हौं।
” मुख्यमन्त्री कँडेल २०८० चैत २७ गते नियुक्त भएका थिए। त्यसबेला माओवादी केन्द्रको समर्थनमा सरकार बनेको थियो। पछि केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै कांग्रेस–एमालेबीच गठबन्धन बनेपछि २०८१ साउनमा कांग्रेस कर्णाली सरकारमा सहभागी भएको थियो। राजीनामा दिएका आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह हाल स्वास्थ्य उपचारका लागि थाइल्यान्डको बैंककमा रहेका छन्। उनले विदेश जानुअघि नै आफ्नो राजीनामा पत्र कांग्रेस संसदीय दलका नेता जीवन शाहीलाई बुझाएका थिए।
शाहका अनुसार संसदीय दलको निर्देशनअनुसार उनले राजीनामा दिएका हुन्। कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामासँगै कर्णाली प्रदेशको सत्ता समीकरण फेरिने सम्भावना बढेको छ। अब मुख्यमन्त्री कँडेलले नयाँ राजनीतिक समर्थन जुटाउने वा सरकार पुनर्गठन गर्ने विकल्प रोज्नेछन् भन्नेमा सबैको चासो केन्द्रित भएको छ। साथै प्रदेश सभामा सरकारको बहुमतको अवस्था र आगामी राजनीतिक रणनीतिबारे पनि केही दिनमै स्पष्ट हुने अपेक्षा गरिएको छ।











प्रतिक्रिया