रौतहट।
रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंगलबार राति करिब १ बजे २८ वर्षीय गौतम कुमार सहनीले शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्। आगलागीबाट उनको घाँटीदेखि तलसम्म करिब ३१.५ प्रतिशत शरीर जलेको प्रहरीले जनाएको छ।
घटनापछि उनलाई तत्काल बेटर नेपाल अस्पताल, गरुडामा उपचारका लागि लगिएको थियो। अस्पतालले बुधबार बिहान करिब ४ बजे प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी बिर्ताबाट प्रहरी सहायक निरीक्षक मनोज दासको नेतृत्वमा टोली घटनास्थल र अस्पताल पुगेको थियो।
प्रहरीका अनुसार प्रारम्भिक उपचारपछि सहनीलाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल, काठमाडौं रिफर गरिएको छ। हाल उनको अवस्था मध्यम रहेको बताइएको छ। युवकले किन यस्तो कदम चाले भन्ने विषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
Compose











प्रतिक्रिया