करिब पाँच दशकदेखि वैज्ञानिक समुदायलाई जिज्ञासामा राख्दै आएको बरफभित्र म्युआन नामक सूक्ष्म कणले देखाउने असामान्य व्यवहारको नयाँ वैज्ञानिक व्याख्या सार्वजनिक भएको छ। जापानको उच्च ऊर्जा त्वरक अनुसन्धान संस्था (केईके) र जापान प्रोटोन त्वरक अनुसन्धान केन्द्र (जे–पार्क)का वैज्ञानिकहरूको नेतृत्वमा गरिएको अनुसन्धानमा नेपालका तीन वैज्ञानिकको पनि महत्वपूर्ण सहभागिता रहेको छ।
डा.अम्बा दत्त पन्तको नेतृत्वमा गरिएको अनुसन्धानमा वरिष्ठ अनुसन्धानकर्ताका रूपमा कोइचिरो शिमोमुराको भूमिका रहेको छ। अनुसन्धान टोलीमा अकिहिरो कोडा, बुर्खार्ड गाइल, कात्सुहिको इशिदा, अञ्जन दाहाल, अनुप श्रेष्ठ, हरि शंकर मल्लिक, जुम्पेई जी. नाकामुरा, शोइचिरो निशिमुरा, मासातोशी हिराइशीलगायतका वैज्ञानिक सहभागी थिए।विश्वप्रसिद्ध वैज्ञानिक जर्नल फिजिकल रिभ्युबी मा प्रकाशित भएको अध्ययनले बरफभित्र म्युआनले देखाउने असामान्य संकेतको कारण क्वान्टम कोहेरन्स भएको पुष्टि गरेको छ। अनुसन्धानका अनुसार म्युआनले पानीको अणुसँग अन्तरक्रिया गरी एमयूओएच नामक अणु निर्माण गर्दा देखिने क्वान्टम प्रक्रियाले लामो समयदेखि देखिँदै आएको रहस्यमय संकेतको व्याख्या गर्न सहयोग पुगेको छ। वैज्ञानिकहरूका अनुसार म्युआनको व्यवहारसँग सम्बन्धित यो संकेत करिब ५० वर्षदेखि विभिन्न प्रयोगमा देखिँदै आएको भए पनि यसको स्पष्ट कारण स्थापित हुन सकेको थिएन। पछिल्लो अध्ययनले त्यसको सम्भावित वैज्ञानिक आधार प्रस्तुत गरेको हो।
अनुसन्धानको नेतृत्वकर्ता बैतडीका डा. अम्बा दत्त पन्त हाल जापानको उच्च ऊर्जा त्वरक अनुसन्धान संस्था (केईके) मा अनुसन्धानकर्ताका रूपमा कार्यरत छन्। डा. पन्तले जापान सरकारको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालय बाट सन् २०२६ देखि २०२८ सम्मका लागि प्रतिस्पर्धात्मक अनुसन्धान अनुदान प्राप्त गरेका छन्। करिब ६० लाख जापानी येन बराबरको यो अनुदान ‘म्युआनको प्रयोगमार्फत हाइपोक्सिया (अक्सिजनको कमी) को पहिचान’ विषयक अनुसन्धानका लागि प्रदान गरिएको हो। यस अनुसन्धानको दीर्घकालीन लक्ष्य म्युआन कणको प्रयोग गरी क्यान्सरका कारण हुने अक्सिजनको कमीलाई शरीरमा कुनै शल्यक्रिया नगरी पहिचान गर्न सक्ने आधुनिक प्रविधि विकास गर्नु हो।यसअघि पनि उनले सन् २०२१ देखि २०२५ सम्मका लागि ५० लाख जापानी येन बराबरको अनुसन्धान अनुदान प्राप्त गरेका थिए। उक्त अनुसन्धानमा पानी, अक्सिजन र हेमोग्लोबिनजस्ता जैविक प्रणालीमा म्युआन–म्युओनियमको अन्तरक्रियाको अध्ययन गर्दै क्यान्सर अनुसन्धानका लागि वैज्ञानिक आधार निर्माण गरिएको थियो। डा. पन्तले अनुसन्धान पत्रमा लेखेका छन् , वर्षौंको निरन्तर प्रयासपछि हाम्रो टोलीले पानीभित्र हुने एउटा क्वान्टम प्रभाव पत्ता लगाउन सफल भएको छ। यससँगै ५० वर्षभन्दा लामो समयदेखि वैज्ञानिक समुदायलाई जिज्ञासामा राख्दै आएको एउटा रहस्यको वैज्ञानिक व्याख्या गर्न सफल भएका छौँ। यो उपलब्धिले पानीयुक्त पदार्थ र जैविक प्रणालीको अध्ययनमा म्युआनको प्रयोगलाई नयाँ उचाइमा पुर्याउनेछ। साथै, अक्सिजनको कमी पहिचान गर्ने अत्याधुनिक चिकित्सकीय प्रविधिको विकासका लागि पनि यसले महत्वपूर्ण आधार तयार गर्नेछ।
अनुसन्धानमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भौतिकशास्त्र विभागका नेपाली वैज्ञानिक अञ्जन दाहाल, अनुप श्रेष्ठ र हरिशंकर मल्लिक को पनि महत्वपूर्ण सहभागिता रहेको छ।अनुसन्धानकर्ताहरूका अनुसार यस अध्ययनले भौतिकशास्त्र, रसायनशास्त्र, पदार्थ विज्ञान तथा जीवविज्ञानसँग सम्बन्धित भविष्यका अनुसन्धानका लागि नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ। विशेषगरी पानी र बरफभित्र हुने सूक्ष्म क्वान्टम प्रक्रियालाई अझ गहिरो रूपमा बुझ्न यसले महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास गरिएको छ।
स्रोत : केईके जापान फिजिकल रिभ्यु बी











प्रतिक्रिया