विश्वभर तीव्र बन्दै प्रजनन सङ्कट : ३५ पारि मातृत्व सार्दा बाँझोपनको जोखिम

विवाह र गर्भधारण ४० वर्ष अगावै गर्न चिकित्सकको सुझाव

0
Shares


काठमाडौँ ।

विश्वभर करियर, उच्च शिक्षा र व्यस्त जीवनशैलीका कारण मातृत्वलाई ढिलाइ गर्ने प्रवृत्ति बढ्दै जाँदा महिलाहरूमा प्रजनन सङ्कट गहिरिँदै गएको एक पछिल्लो अध्ययनले देखाएको छ । ‘द ल्यान्सेट अब्स्टेट्रिक्स, गायनोकोलोजी एन्ड वुमेन्स हेल्थ’ मा प्रकाशित एक अनुसन्धान प्रतिवेदनअनुसार हाल विश्वभर ३५ देखि ४९ वर्ष उमेर समूहका करिब ५ करोड ३६ लाख महिलाले गर्भधारण गर्न नसकेको पाइएको छ । यस तथ्याङ्कले ढिलो उमेरमा सन्तान जन्माउने सोच राख्ने महिलाहरूका लागि गम्भीर चेतावनी दिएको छ ।

चीनको चोङकिङ मेडिकल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले सन् १९९० देखि २०२३ सम्म विश्वका २०४ देशको स्वास्थ्य तथ्याङ्कलाई गहन विश्लेषण गरी यो प्रतिवेदन सार्वजनिक गरेका हुन् । अध्ययनअनुसार, सन् १९९० मा प्रति एक लाख महिलामध्ये करिब ६ हजार १ जनामा देखिएको बाँझोपनको दर सन् २०२३ मा आइपुग्दा बढेर प्रति एक लाखमा ६ हजार ९०७ पुगेको छ ।

३५ देखि ४९ वर्ष उमेरका महिलाहरूमा अझै महिनावारी भइरहने भएकाले उनीहरूलाई प्राविधिक रूपमा प्रजनन उमेर समूहमा राखिन्छ । तर, चिकित्सा विज्ञानका अनुसार महिलाको डिम्बको सङ्ख्या र गुणस्तर ३५ वर्षको उमेरपछि प्राकृतिक रूपमै तीव्र गतिमा घट्न थाल्छ । ४० वर्षको उत्तरार्धसम्म पुग्दा यो क्षमता निकै न्यून भइसकेको हुन्छ ।

अनुसन्धानमा महिलालाई ३५–३९, ४०–४४ र ४५–४९ गरी तीन समूहमा विभाजन गरिएको थियो । नियमित असुरक्षित यौनसम्पर्क गरेको १२ महिनासम्म पनि चिकित्सकीय रूपमा गर्भ रहन नसक्ने अवस्थालाई बाँझोपन मानिएको छ । आगामी दिनको प्रक्षेपणअनुसार सन् २०३६ सम्म विश्वभर बाँझोपनबाट प्रभावित महिलाको सङ्ख्या बढेर करिब ७ करोड ९६ लाख पुग्ने अनुमान गरिएको छ ।

अध्ययनका प्रमुख लेखक युआन डुका अनुसार सन् १९९० को दशकको अन्त्यपछि महिलाहरूको शिक्षा र रोजगारीमा सहभागिता उल्लेख्य रूपमा बढेको छ । आर्थिक रूपमा आत्मनिर्भर बन्ने र करियर स्थापित गर्ने होडमा सन्तान जन्माउने उमेर पछाडि सरिरहेको छ ।
बेलायतको अफिस फर नेसनल स्टाटिस्टिक्सको तथ्याङ्कले पनि यसलाई पुष्टि गर्छ । बेलायतमा पहिलोपटक सन्तान जन्माउने आमाको औसत उमेर ३०.९ वर्ष पुगेको छ, जुन इतिहासकै उच्च हो । अचम्मको कुरा त के छ भने, हाल ४० वर्षभन्दा माथिका महिलाबाट जन्मिने शिशुको सङ्ख्या किशोरी आमाबाट जन्मिने शिशुको भन्दा दोब्बर बढी भइसकेको छ । पाँच दशकअघि यो अवस्था ठीक उल्टो थियो ।

बाँझोपन बढ्नुमा उमेर मात्र नभई आधुनिक जीवनशैली, अत्यधिक मानसिक तनाव, मोटोपन र खानपानको असन्तुलन पनि प्रमुख कारकका रूपमा देखिएका छन् । यद्यपि, प्रविधिको विकास र प्रजनन उपचारको पहुँच बढेका कारण धेरै महिलाहरू परीक्षणका लागि अस्पताल पुग्ने र बाँझोपन पहिचान हुने सङ्ख्या बढेको पनि अध्ययनले औँल्याएको छ ।

नेपालको सुखद् अवस्था र क्षेत्रीय भिन्नता सन् २०२३ को तथ्याङ्कलाई हेर्दा भौगोलिक रूपमा बाँझोपनको भार पूर्वी एसियामा सबैभन्दा बढी र अष्ट्रेलियामा सबैभन्दा कम देखिएको छ । देशगत रूपमा मध्य अफ्रिकी गणतन्त्रमा बाँझोपनको समस्या सबैभन्दा विकराल रहँदा नेपालमा भने विश्वमै सबैभन्दा कम बाँझोपनको भार रहेको सुखद् तथ्य अध्ययनले देखाएको छ । नेपालमा अझै पनि तुलनात्मक रूपमा सही उमेरमा विवाह र सन्तान जन्माउने पारिवारिक संरचना कायम रहेकाले यो अवस्था देखिएको विश्लेषकहरू बताउँछन् ।

अनुसन्धानकर्ता तथा वरिष्ठ स्त्रीरोग विशेषज्ञहरूका अनुसार बाँझोपन केवल शारीरिक स्वास्थ्य समस्या मात्र होइन; यसले मानसिक तनाव, सामाजिक कलङ्क, आर्थिक बोझ र दाम्पत्य सम्बन्धमा समेत दरार उत्पन्न गराइरहेको छ । बढ्दो प्रजनन सङ्कटलाई मध्यनजर गर्दै चिकित्सकहरूले महिलाहरूलाई विवाह र पहिलो बच्चा जन्माउने उमेर कुनै पनि हालतमा ४० वर्ष नकटाउन विशेष सुझाव दिएका छन् ।

चिकित्साशास्त्रका अनुसार जैविक घडीलाई चुनौती दिनु स्वास्थ्यका लागि जोखिमपूर्ण हुन्छ । ढिलो उमेरमा गर्भधारण गर्दा आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्न सक्ने, गर्भपतन हुने सम्भावना बढ्ने र बच्चामा जन्मजात असामान्यता देखिने खतरा रहन्छ त्यसैले, करियर र व्यक्तिगत जीवन सँगसँगै लैजाँदा कम्तीमा ३० देखि ३५ वर्षको उमेरभित्रै परिवार विस्तारको योजना बनाउनु सबैभन्दा सुरक्षित र बुद्धिमानी हुने चिकित्सकहरूको सुझाव छ । साथै, सरकारले पनि प्रजनन स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको प्राथमिकतामा राख्दै सचेतना र सहज उपचार सेवा गाउँ–गाउँसम्म पु¥याउनु आवश्यक देखिन्छ ।