देशभर २४सै घण्टा कल सेन्टर सञ्चालन

फोन गरेकै जिल्लाबाट तत्काल उद्धार समन्वय


काठमाडौँ ।

प्राकृतिक विपद्का बेला नागरिकले सहायता माग्न, सूचना दिन वा गुनासो गर्न अब एउटै नम्बर १२३४ सम्झिए पुग्ने भएको छ । सरकारले पुरानो विपद् टोल–फ्री नम्बर ११४९ लाई विस्थापन गर्दै शुक्रवारदेखि १२३४ सञ्चालनमा ल्याएको छ । नयाँ प्रणालीअनुसार अब फोन गर्ने व्यक्ति जुन जिल्लामा हुन्छ, सोही जिल्लाको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा कल स्वतः पुग्ने व्यवस्था गरिएको छ ।

गृह मन्त्रालयका अनुसार यो व्यवस्था नेपाल सरकार मन्त्रिपरिषद्को गत वर्षको चैत १३ गते स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत नतिजामा आधारित शासकीय व्यवस्थापन लागू गर्ने निर्णयअनुरूप कार्यान्वयनमा आएको हो । यसको उद्देश्य सरकारी सेवा प्रवाहलाई थप नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउनुका साथै विपद्का बेला नागरिकले छिटो र सहज सेवा प्राप्त गर्न सक्ने वातावरण तयार गर्नु हो ।

सरकारले देशका ७७ वटै जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई २४सै घण्टा सञ्चालनमा ल्याएर त्यही संरचनासँग नयाँ कल सेन्टर प्रणाली जोडेको छ । यसले विपद्को सूचना सङ्कलन, उद्धार समन्वय, राहत व्यवस्थापन तथा स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

यसअघि सञ्चालनमा रहेको ११४९ नम्बरमा देशभरबाट आएका सबै कल केन्द्रीय स्तरबाट मात्रै सम्बोधन गर्नुपर्ने व्यवस्था थियो । त्यसका कारण जिल्लास्तरमै समाधान गर्न सकिने विषय पनि केन्द्रसम्म पुग्दा प्रतिक्रिया दिन ढिलाइ हुने, सूचना प्रवाहमा समय लाग्ने तथा आपत्कालीन अवस्थामा तत्काल समन्वय गर्न कठिनाइ हुने समस्या देखिएको थियो ।

नयाँ १२३४ प्रणालीमा भने कल स्वतः सम्बन्धित जिल्लामा पुग्ने भएकाले स्थानीय उद्धार संयन्त्र तुरुन्तै सक्रिय हुने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरबाट १२३४ मा फोन गर्दा भने राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र सिंहदरबारमा कल पुग्नेछ । बाँकी ७४ जिल्लामा भने सम्बन्धित जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रले नै कलको सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ ।

सरकारका अनुसार नागरिकले १२३४ नम्बरमा फोन गरेर बाढी, पहिरो, डुबान, आगलागी, चट्याङ, हिमपहिरो, भूकम्प, हावाहुरीलगायत सबै प्रकारका विपद्सम्बन्धी सूचना दिन, उद्धारका लागि अनुरोध गर्न, समस्या तथा गुनासा राख्न र आवश्यक सुझाव दिन सक्नेछन् । यसबाट विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

नेपालमा मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानका घटना बढिरहेका बेला सरकारले यस्तो प्रणाली सञ्चालनमा ल्याएको हो । पछिल्ला वर्षहरूमा विपद्का घटनामा सूचना ढिलो पुग्दा उद्धार तथा राहतमा ढिलाइ भएको भन्दै आलोचना हुँदै आएको थियो । नयाँ नम्बर र जिल्ला–आधारित कल रुटिङ प्रणालीले त्यस्तो समस्या न्यूनीकरण गर्ने सरकारी दाबी छ ।

मन्त्रालयले विपद्का बेला अफवाह फैलाउनेभन्दा आधिकारिक सूचना यही नम्बरमार्फत दिन तथा आवश्यक सहयोग माग्न पनि अनुरोध गरेको छ । विपद् व्यवस्थापनका जानकारहरूका अनुसार एउटै, छोटो र सहज नम्बरमार्फत स्थानीय तहसम्म प्रत्यक्ष सम्पर्क हुने व्यवस्था नेपालका लागि महत्वपूर्ण सुधार हो । उनीहरूका अनुसार विपद्को पहिलो केही मिनेट नै उद्धारका लागि सबैभन्दा महत्वपूर्ण हुने भएकाले सूचना छिटो सम्बन्धित जिल्लासम्म पुग्नुले जनधनको क्षति कम गर्न उल्लेखनीय योगदान पु¥याउन सक्छ ।

सरकारले शासकीय सुधार अभियानअन्तर्गत सार्वजनिक सेवामा सूचना प्रविधिको प्रयोग विस्तार, सेवाग्राहीमैत्री प्रणाली विकास तथा सरकारी संयन्त्रलाई नतिजामुखी बनाउने लक्ष्य लिएको छ ।

अब देशभरका नागरिकका लागि सन्देश स्पष्ट छ । विपद् पर्दा वा विपद्सम्बन्धी कुनै सूचना भए सम्झिनुपर्ने एउटै नम्बर हो, १२३४ हो । यही नम्बरमार्फत सम्बन्धित जिल्लाको आपत्कालीन कार्यसञ्चालन केन्द्रसँग प्रत्यक्ष सम्पर्क स्थापित हुने भएकाले उद्धार, समन्वय र राहत व्यवस्थापन अझ छिटो र प्रभावकारी हुने सरकारको अपेक्षा छ ।