काठमाडौं।
राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि काठमाडौं महानगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।
महानगरपालिकाले शुक्रबार जारी गरेको विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिनका लागि नेपाल सरकार, गृह मन्त्रालयले छानबिन समिति गठन गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको उल्लेख गर्दै उक्त समितिलाई आवश्यक सबै सहयोग गर्ने जनाएको छ।
महानगरले छानबिनबाट प्राप्त निष्कर्ष र सुझावका आधारमा आवश्यक सुधारात्मक तथा जिम्मेवारीपूर्ण कदम चाल्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ। साथै नेपाल सरकारसँग समन्वय र सहकार्य गर्दै यस्ता घटना पुनः दोहोरिन नदिन आवश्यक उपाय अवलम्बन गर्ने जनाएको छ।
महानगरपालिकाले संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सबैलाई संयमित रहन र धैर्य अपनाउन आग्रह गरेको छ।
यसैबीच, दिवंगत गणेश नेपालीका परिवारलाई काठमाडौं महानगरपालिकाको तर्फबाट मानवीय सहयोग उपलब्ध गराउने, रोजगारीको व्यवस्था मिलाउने तथा उनका सन्ततिलाई निःशुल्क शिक्षा प्रदान गर्ने विषय कार्यपालिका बैठकबाट विधिसम्मत रूपमा निर्णय गरिने महानगरले जनाएको छ।











प्रतिक्रिया