काठमाडौं।
महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ। बैंकले शुक्रबार आयोजित एक कार्यक्रमबीच उक्त डिजिटल हबको औपचारिक उद्घाटन गरेको हो।
बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले डिजिटल हबसहितको कार्यालय भवनको उद्घाटन गरेका थिए। कार्यक्रममा सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका पदाधिकारी तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
बैंकका अनुसार डिजिटल बैंकिङ सेवालाई थप आधुनिक, सुरक्षित, प्रविधिमैत्री तथा ग्राहकमैत्री बनाउने उद्देश्यले कफी लाउन्जको अवधारणा जोडिएको हो। यस डिजिटल हबमार्फत ग्राहकहरूले आरामदायी वातावरणमा बसेर नगद जम्मा गर्ने, नगद झिक्ने, चेक क्लियरिङ गर्ने तथा विभिन्न विद्युतीय बैंकिङ कारोबार गर्न सक्नेछन्।
बैंकले नेपालकै बैंकिङ क्षेत्रमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालन गर्ने सम्भवतः पहिलो बैंक भएको दाबी गरेको छ।
युवापुस्तालाई डिजिटल बैंकिङतर्फ आकर्षित गर्नुका साथै ग्राहकको पहुँच विस्तार गर्ने लक्ष्यसहित सञ्चालनमा ल्याइएको यस डिजिटल हबबाट डिजिटल बैंकिङ सेवासम्बन्धी परामर्शसमेत प्रदान गरिने बैंकले जनाएको छ। यसले ग्राहकका लागि सिकाइ र अनुभवको केन्द्रका रूपमा समेत काम गर्ने अपेक्षा गरिएको छ।
बैंकले नेपाल राष्ट्र बैंकको नियामकीय स्यान्डबक्स (Regulatory Sandbox) को अवधारणालाई समेत आत्मसात् गर्दै भविष्यमा वित्तीय सेवामा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र नयाँ प्रविधिमा आधारित सेवा ग्राहकसमक्ष ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।











प्रतिक्रिया