एनआईसी एशिया बैंकद्वारा लमजुङ र दाङका दुई विद्यालयमा शैक्षिक सामग्री सहयोग


काठमाडौं।

एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत लमजुङ र दाङका दुई सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न वर्गका विद्यार्थीहरूलाई विद्यालय पोशाक, झोला तथा शैक्षिक सामग्री सहयोग गरेको छ।

बैंकले सुन्दरबजार, लमजुङस्थित श्री सर्वोदय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक, झोला तथा शैक्षिक सामग्री प्रदान गरेको हो। १८३ भन्दा बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा आषाढ २३ गते आयोजित कार्यक्रममा बैंकको बेसीशहर शाखाका निमित्त शाखा प्रमुख कंवलजीत सिंह सन्धुले विद्यालयका सहप्रधानाध्यापक लालबहादुर गुरुङलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए।

त्यसैगरी, बैंकले तुलसीपुर उपमहानगरपालिका–१, भ्यूडहर, सुनपुर, दाङस्थित श्री विरेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई झोला तथा शैक्षिक सामग्री उपलब्ध गराएको छ। ३८३ भन्दा बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा आषाढ २५ गते आयोजित कार्यक्रममा बैंकका घोराही सर्कल प्रमुख विनोद प्रसाद जैसी तथा तुलसीपुर शाखाका शाखा प्रमुख राजिभ ओलीले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीलाई सामग्री हस्तान्तरण गरेका थिए।

दुवै कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी तथा बैंकका कर्मचारीहरूको सहभागिता रहेको थियो।

बैंकका अनुसार उपलब्ध गराइएको सहयोगले विद्यार्थीहरूको पठनपाठनलाई थप सहज बनाउनुका साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ।