काठमाडौं।
नेपालमा एएसी (AAC) ब्लक उत्पादन क्षेत्रमा कार्यरत मेची इन्डस्ट्रिज लिमिटेडले भारतको लक्ष्मी इन–फ्याब प्राइभेट लिमिटेडसँग उत्पादन क्षमता विस्तारका लागि समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेको छ।
कम्पनीका अनुसार उक्त सम्झौतापछि मेची इन्डस्ट्रिजले मासिक ५ हजार क्युबिक मिटर थप एएसी ब्लक उत्पादन गर्ने क्षमता विकास गर्नेछ। उत्पादन विस्तारसँगै कम्पनीले मोटार एडेसिभ, रेडिमिक्स प्लास्टर, टाइल एडेसिभ तथा वाल पुट्टी उत्पादनका लागि आवश्यक आधुनिक प्लान्ट तथा उपकरण खरिद गर्ने निर्णयसमेत गरेको जनाएको छ।
कम्पनीले यस सहकार्यले अत्याधुनिक प्रविधिको प्रयोग, उत्पादन क्षमता विस्तार तथा दिगो औद्योगिक विकासलाई टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, नेपाल र भारतबीचको औद्योगिक सहकार्यलाई थप सुदृढ बनाउन यो साझेदारी महत्त्वपूर्ण हुने कम्पनीको भनाइ छ।
यसैबीच, मेची इन्डस्ट्रिजले आफ्नो व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गर्दै तीनवटा अन्तर्राष्ट्रिय आईएसओ (ISO) प्रमाणपत्र प्राप्त गरेको जनाएको छ। कम्पनीले आईएसओ ९००१ः२०१५ (गुणस्तर व्यवस्थापन प्रणाली), आईएसओ १४००१ः२०१५ (वातावरणीय व्यवस्थापन प्रणाली) तथा आईएसओ ४५००१ः२०१८ (व्यावसायिक स्वास्थ्य तथा सुरक्षा व्यवस्थापन प्रणाली) को प्रमाणपत्र हासिल गरेको हो।
कम्पनीका अध्यक्ष पवन घिमिरेले यी प्रमाणपत्रले गुणस्तरीय उत्पादन, संस्थागत सुशासन, वातावरणीय उत्तरदायित्व तथा कर्मचारीको स्वास्थ्य र सुरक्षाप्रतिको कम्पनीको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाएको बताए।
उनका अनुसार मेची इन्डस्ट्रिजले आगामी दिनमा पनि निरन्तर सुधार, वातावरणमैत्री औद्योगिक अभ्यास, नवीन प्रविधिको प्रयोग तथा गुणस्तरीय उत्पादनमार्फत नेपालको औद्योगिक विकासमा योगदान दिने लक्ष्यका साथ अघि बढ्नेछ।











प्रतिक्रिया