काठमाडौँ।
राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री सुधन गुरुङको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। उनले गृहमन्त्रीलाई लक्षित गर्दै, “तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर?” भन्दै प्रश्न उठाए।
गणेश नेपालीको मृत्यु प्रकरण उल्लेख गर्दै शाहीले गृहमन्त्रीले वास्तविक उद्धार र उपचारभन्दा प्रचारमुखी गतिविधिमा बढी ध्यान दिएको आरोप लगाए। उनका अनुसार गृहमन्त्री क्यामरा र सञ्चारमाध्यमको घेरामा फिल्मी शैलीमा विभिन्न स्थानमा दौडिरहेको देखिए पनि समयमै प्रभावकारी उपचारको व्यवस्था गरिएको भए गणेश नेपालीको ज्यान जोगिन सक्ने थियो।
शाहीले गृहमन्त्रीको प्राथमिकता जनताको जीवन रक्षा हुनुपर्ने भन्दै युट्युबका लागि सामग्री (कन्टेन्ट) बनाउनु मुख्य विषय नभएको बताए। उनले समयमै सुविधा सम्पन्न अस्पतालमा उपचार गराइएको भए वा आवश्यक परे एयर एम्बुलेन्स तथा जहाजमार्फत दिल्ली पठाउने व्यवस्था गरिएको भए दुःखद घटना टार्न सकिने दाबी गरे।
यसै क्रममा उनले सरकारले पछिल्लो समय जनताको जीवन झन् कठिन बनाएको आरोप पनि लगाए। सरकारले करमाथि कर थप्दै गरिब तथा विपन्न वर्गलाई थप समस्यामा पारेको भन्दै उनले सरकारलाई जनताको पीडा बुझ्न र उनीहरूको आँसु पुछ्ने काम गर्न आग्रह गरे।











प्रतिक्रिया