
-‘सामाजिक मर्यादा विपरीत अभिव्यक्त साहित्य अश्लील हुन्छ ।’
– ‘साहित्य मन्दिर हो भने राजनीति शौचालय हो ।’
– ‘साहित्यलाई राजनीतिबाट अलग गर्नुपर्छ भन्ने दृष्टिकोण त्रुटिपूर्ण छ ।’
-‘साहित्यमा विचार र कला चराका दुई पखेटा हुन् ।’
– ‘सार्थक सृजना झन्डामुनि बसेर गरे पनि हुन्छ ।’
– ‘साहित्य सरल, सरस र सघन हुनुपर्छ ।’
– ‘पुरस्कार वितरण र पात्र चयनले पुरस्कारकै गरिमा घटाएको छ ।’
– ‘नारीका पक्षमा रहेका रूढ चिन्तनलाई अस्वीकार गर्नुपर्छ ।’
– प्राज्ञिक संलापबाट
यी उल्लिखित धारणाहरू वर्तमान नेपाल साहित्यका बारेमा विभिन्न सामालोचकहरूले व्यक्त गर्नुभएको हो । साहित्यलाई सही दिशानिर्देश गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने ‘समालोचना विधा’ नेपाली साहित्यानुरागीहरूबीच कम लोकप्रिय मानिए तापनि साहित्यको उन्नयनका लागि भरपर्दो विधा ‘समालोचना’ नै हो । राम्रो समालोचना लेख्नका लागि पर्याप्त ज्ञान, सीप भएर मात्र पुग्दैन । त्यसका लागि प्रस्तुति कला, सही समालोचना गर्ने आँट र कुनै लेखकले चित्त दुखाउन सक्ने कुरालाई पनि आत्मसात् गर्न सक्ने क्षमतासमेत हुनुपर्छ । त्यस्तै गरी राम्रो साहित्य सृजना गर्नका लागि पनि समालोचना पढ्नै पर्छ । आफ्ना रचनाका बारेमा सामालोचकले उठाएका सवाल र सुझावहरूलाई आत्मसात् गर्न सक्नु लेखकीय गुण हो ।
साहित्यमा समालोचनात्मक दृष्टि पस्कनु वा कुनै कृति वा सृजनाका बारे यथार्थपरक समालोचना गर्नु कुनै रचना सृजना गर्नुभन्दा कठिन र अब्जसिलो काम हो । त्यसैले समालोचना गर्ने लेखक अध्ययनशील र आँटिलो त हुनै पर्छ । केवल कृतिको समालोचना मात्र गर्ने र आफ्ना अरू सृजना नगर्ने समालोचकलाई अब्बल मान्न पनि सकिन्न । किनकि उसले स्रष्टाको अनुभूति, भावना, चिन्तन, दृष्टिकोण र मेहनतलाई राम्ररी पर्गेल्न सक्तैन ।
यसै सन्दर्भमा विविध विधामा कलम चलाउने साहित्यकार दिल पौडेलले हालै प्रकाशित आफ्नो नयाँ कृति ‘प्राज्ञिक संलाप’मा अनेकौं साहित्यिक कृतिहरू सृजना गरिसक्नुभएका र साहित्यिक समालोचनामा पनि आफ्ना धारणाहरू पस्किने २० जना वरिष्ठ साहित्यकारहरूको नेपाली साहित्यका विविध पक्षमा समालोचनात्मक धारणाहरू समाविष्ट गरेर कृति (अन्तर्वार्ता सङ्ग्रह) प्रकाशित गर्नुभएको छ ।
लेखक एवं अन्तर्वार्ताकार पौडेलले नेपाली साहित्यका अध्येताहरूका लागि अन्तर्वार्ता विधामा नयाँ पाइलोको रुपमा ‘प्राज्ञिक संलाप’लाई लिनुभएको छ । वि.सं. २००७ देखि २०३६ सालभित्र जन्मेका १९ जना विद्यावारिधि उपाधि प्राप्त स्रष्टा र एकजना सिक्किमका अतिथि साहित्यकारसमेत जम्मा २० जना साहित्यकारहरूको दृष्टिकोणलाई उहाँले यस कृतिमा समेट्नुभएको छ । लेखकका अनुसार ‘प्राज्ञिक संलाप’मा समाज परिवर्तनको चाहना राख्ने केही कर्मनिष्ठ स्रष्टाले प्रश्नको उत्तर दिँदा निडर, निष्पक्ष र सत्यमा आधारित भएर दिनुभएको छ ।
यस कृतिमा साहित्यकार दिल पौडेलले अन्तर्वार्ताका क्रममा वरिष्ठ साहित्यकारहरूलाई एक दर्जन बढी दृष्टिकोणमा विविध प्रश्न राख्दै धारणाहरू लिनुभएको छ । उहाँहरूको संघर्ष र उपलब्धिलाई पनि प्रस्ट्याउनुभएको छ ।
लेखकले अन्तर्वार्ताका क्रममा अब लेखिने साहित्य कस्तो हुनुपर्छ ? अहिलेको साहित्यिक वातावरण कस्तो छ ? वर्तमान अवस्थामा साहित्यकारहरूको भूमिका कस्तो रहेको छ ? सत्ताले साहित्यलाई सधैँ अवमूल्यन किन गर्छ ? विश्व साहित्यमा नेपाली साहित्यको स्थान कस्तो छ ? लगायतका अनेकौँ प्रश्न र तिनका उत्तर समावेश गर्नुका साथै साहित्यकारका व्यक्तिगत प्रसङ्गहरू पनि समावेश गर्नुभएको छ, जुन अरूका लागि समेत ज्ञान र प्रेरणाको स्रोत बन्न सक्छ ।
साथै यस कृतिमा स्रष्टाले नवोदित लेखकहरूलाई साहित्य लेखनमा सघाउ पु¥याउने सुझावहरूसमेत लिएर समावेश गर्नुभएको छ, जसले पुस्तकको ओजलाई अझ बढाइदिएको छ ।
नवोदित लेखकहरूलाई कस्तो सल्लाह दिनुहुन्छ ? भन्ने सन्दर्भमा वरिष्ठ साहित्यकारहरूको सुझाव छ– ‘आफूलाई अध्ययन, अनुभव, बोध, साधना एवं आलोचनात्मक विवेकले समृद्ध गर्न निरन्तर लाग्नुपर्छ । अति महत्त्वाकाङ्क्षा र बढी प्रचार–मोहबाट बच्नुपर्छ । साहित्यको सामाजिक भूमिकालाई गहिरो गरी आत्मसात् गर्नुपर्छ ।’
‘अरूको अध्ययन गर्नुस्, अरू देशको साहित्य कस्तो छ ? त्यो पनि पढ्नुस् अनि लेख्नुस्, लेखिरहनुस् । अरूलाई सुनाउनुस्, प्रतिक्रिया माग्नुस् अनि फेरि लेख्नुस् । इतिहास पढ्नुस्, पुराण पढ्नुस्, दर्शन पढ्नुस् अनि लेख्नुस् आख्यान, नाटक, कविता, निबन्ध जे सिर्जना गरे पनि हुन्छ, गर्नुस् । लेख्नुस् तर प्रकाशन गर्न हतार नगर्नुस् ।’
यस किसिमका सुझावहरू सबै लेखकहरूका लागि उपयोगी त छँदै छन्, तर पनि नवोदित लेखकहरूलाई बढी उपयोगी हुनेछ भन्ने लाग्छ ।
साहित्यकार दिल पौडेलले यस कृतिमा अन्तर्वार्ताका निमित्त प्रसिद्ध साहित्यकारहरूलाई समावेश गर्नुभएको छ । जस्तो– १. प्रा.डा. जीवेन्द्रदेव गिरी, २. प्रा.डा. कृष्णहरि बराल, ३. प्रा.डा. कृष्णप्रसाद दाहाल, ४. प्रा.डा. गङ्गाप्रसाद अधिकारी, ५.डा. अमर गिरी, ६. प्रा.डा. लक्ष्मणप्रसाद गौतम, ७. सह–प्रा.डा. योगेश्वर निरौला, ८. डा. छायादत्त न्यौपाने, ९. प्रा.डा रामप्रसाद ज्ञवाली, १०. डा. देवी दुलाल क्षत्री, ११. प्रा.डा. नारायणप्रसाद गड्तौला, १२. डा. विदुला दाहाल घिमिरे, १३. डा. विनोद मन्जन, १४. डा. गायत्री विष्ट, १५. डा. गीता त्रिपाठी, १६. डा. रजनी ढकाल, १७. डा. हरिप्रसाद सिलवाल, १८. प्रा.डा. देवी नेपाल, १९. डा. रमेश शुभेच्छु, २०. पवन चाम्लिङ ’किरण’ ।
समग्र दृष्टिकोणले हेर्दा यो पुस्तक निकै उपयोगी तथा सङ्ग्रहणीय छ । यसले नेपाली साहित्यानुरागीहरूलाई गहकिलो खुराक दिने विश्वास छ ।
मूलतः दिल पौडेल वर्तमान अवस्थामा युवा साहित्यकारहरूमा हाइकु लेखनमा अग्रणीमध्ये एक हुनुहुन्छ । यसका साथै उपन्यास, समालोचना, कविता, गजल, संस्मरण आदि विषयमा करिब एक दर्जन पुस्तकहरू प्रकाशित गरिसक्नुभएको छ र विभिन्न पुरस्कारहरू पनि प्राप्त गर्नुभएको छ ।
करिब ३ सय पृष्ठको यस पुस्तकको प्रकाशक सुदीप पौडेल रहनुभएको छ भने यस कृतिको मूल्य रु. ९५१।– रुपियाँ रहेको छ ।











प्रतिक्रिया