काठमाडौं ।
कुमारी बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत बाजुरा जिल्लाको गौमुल गाउँपालिकाका छ वटा सामुदायिक माध्यमिक विद्यालयलाई स्मार्ट टेलिभिजन उपलब्ध गराएको छ।
बैंकले आफ्नो गौमुल शाखामार्फत गाउँपालिकासँगको समन्वयमा उक्त सहयोग गरेको जनाएको छ। बैंकका अनुसार ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यालयमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण–सिकाइलाई प्रवर्द्धन गर्ने, विद्यार्थीको डिजिटल शिक्षामा पहुँच विस्तार गर्ने तथा गुणस्तरीय शिक्षालाई सुदृढ बनाउने उद्देश्यले स्मार्ट टेलिभिजन हस्तान्तरण गरिएको हो।
सहयोग प्राप्त गर्ने विद्यालयमा श्री मानाकोट माध्यमिक विद्यालय (गौमुल–५), श्री जनज्योति माध्यमिक विद्यालय (गौमुल–२), श्री अम्लिश माध्यमिक विद्यालय (गौमुल–१), श्री फूलपाता माध्यमिक विद्यालय (गौमुल–२), श्री किर्तिचौर माध्यमिक विद्यालय (गौमुल–६) र श्री बालविकास माध्यमिक विद्यालय (गौमुल–३) रहेका छन्।
बैंकले भौगोलिक कठिनाइका कारण आधुनिक शैक्षिक स्रोत–साधनको पहुँच सीमित रहेको गौमुल क्षेत्रका विद्यालयमा स्मार्ट टेलिभिजनले शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, प्रविधिमैत्री र आकर्षक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
कुमारी बैंकका अनुसार डिजिटल सामग्री तथा श्रव्य–दृश्य माध्यममार्फत विद्यार्थीलाई आधुनिक प्रविधिमा आधारित शिक्षासँग जोड्ने प्रयासस्वरूप यो सहयोग गरिएको हो। यसबाट दुर्गम क्षेत्रका विद्यार्थीले पनि प्रविधिमैत्री सिकाइको अवसर प्राप्त गरी गुणस्तरीय शिक्षामा सहज पहुँच हासिल गर्ने अपेक्षा गरिएको बैंकले जनाएको छ।
‘समुदायका लागि कुमारी बैंक’ भन्ने मूल भावनाअनुरूप बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८६ शाखा, ४१ एक्सटेन्सन काउन्टर, ३०४ एटीएम तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ।











प्रतिक्रिया