राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका युवाको अवस्था गम्भीर, वीर अस्पतालको भेन्टिलेटरमा उपचार हुँदै


काठमाडौं।

राजधानीको त्रिपुरेश्वरस्थित राहदानी विभागको गेट अगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा पेट्रोल छर्की आत्मदाहको प्रयास गरेका एक युवाको स्वास्थ्य अवस्था अत्यन्तै चिन्ताजनक रहेको छ।

मुगुको सोरु गाउँपालिका- १ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीले शरीरमा आगो लगाएका हुन्। उनको शरीरको करिब ६० प्रतिशत भाग जलेकाले अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन्।

‘बर्न आइसियु’ र भेन्टिलेटरमा उपचार जारी

घाइते नेपालीको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका प्रमुख प्लास्टिक सर्जन प्रा. डा. पियुस दाहालका अनुसार नेपालीको टाउको, छाती र हातजस्ता शरीरका संवेदनशील अंगहरू गम्भीर रूपमा जलेका छन्।

“उहाँको स्वास्थ्य अवस्था निकै क्रिटिकल (गम्भीर) छ,” डा. दाहालले भन्नुभयो- “जलनका कारण श्वासप्रश्वास प्रणालीमा समेत गम्भीर समस्या देखिएकाले प्राथमिक उपचारपछि तत्कालै भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ।”

अस्पताल पुर्‍याउँदा घाइते नेपाली होसमै भए पनि उनको बोली निकै सानो र कमजोर रहेको चिकित्सकहरूले बताएका छन्। जलनको प्रकृतिका कारण उनको स्वास्थ्य अवस्था बिस्तारै अझै जटिल बन्दै जाने जोखिम रहेको छ। आकस्मिक कक्षमा आवश्यक उपचारपश्चात् उनलाई वीर अस्पतालकै ‘बर्न आइसियु’ (जलन सघन उपचार कक्ष) मा सारेर विशेष निगरानीमा राखिएको छ।

मोटरसाइकलमा ‘व्हिल लक’ लगाएपछि घटना

घटनाको पृष्ठभूमिबारे खोजी गर्दा पार्किङको विषयलाई लिएर सो अप्रिय स्थिति सिर्जना भएको खुलेको छ। राहदानी विभाग अगाडि नेपालीले पार्किङ गरी राखेको मोटरसाइकलमा ट्राफिक प्रहरीले ‘व्हिल लक’ (पाङ्ग्रामा साँचो) लगाइदिएको थियो।

प्रत्यक्षदर्शी र प्रहरी स्रोतका अनुसार आफ्नो मोटरसाइकलमा व्हिल लक लागेको देखेपछि आक्रोशित र तनावमा आएका नेपालीले सोही मोटरसाइकलको ट्याङ्कीबाट पेट्रोल निकालेर आफ्नै शरीरमा खन्याएका थिए र क्षणभरमै आगो लगाएका थिए।

विभाग अगाडि नै हिँडिरहेका सर्वसाधारण र सुरक्षाकर्मीले तत्कालै आगो निभाएर उनलाई दिउँसो साढे तीन बजेतिर वीर अस्पताल पुर्‍याएका थिए। सार्वजनिक स्थलमा दिउँसै भएको यस दुःखद घटनाले राहदानी विभाग आसपासका सर्वसाधारण र सेवाग्राहीलाई निकै स्तब्ध बनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।