रोचक प्रसंङग जसले तपाई अचम्ममा पर्नुहुनेछ


१. कङ्गोमा विवाहको दिन दुलाहा–दुलही मुस्कुराउन पाउँदैनन्

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा विवाहलाई अत्यन्त गम्भीर बन्धन मानिन्छ। त्यसैले विवाह समारोह, स्वागत कार्यक्रम (रिसेप्सन) र विवाहका तस्बिर खिच्दा समेत दुलाहा वा दुलहीले मुस्कुराउन वा हाँस्न हुँदैन। यदि उनीहरू हाँसे भने विवाहप्रति गम्भीर नभएको संकेत मानिन्छ।

२. रानी एलिजाबेथ प्रथम को कालो दाँत फेसन

इङ्ग्ल्यान्डकी रानी एलिजाबेथ प्रथमलाई मिठाई अत्यन्त मनपर्थ्यो। धेरै चिनी खाँदा उनका दाँत कालो भएका थिए। त्यतिबेला रानीलाई धेरै महिलाले आदर्श मान्ने भएकाले उनीहरू पनि रानीजस्तै देखिन आफ्ना दाँत कालो बनाउन थालेका थिए। आधुनिक दन्त उपचार र टूथपेस्टको महत्त्व सम्झाउने यो अनौठो इतिहास हो।

३. सन् १९२० को दशकमा शिशुलाई ताजा हावा खुवाउन झ्यालबाहिर झुन्ड्याइन्थ्यो

सन् १९२२ मा आविष्कार गरिएको तारले बनेको विशेष ‘बेबी केज’ (शिशु पिँजडा) प्रयोग गरेर अभिभावकहरूले आफ्ना शिशुलाई अपार्टमेन्टको झ्यालबाहिर झुन्ड्याएर ताजा हावा खुवाउने गर्थे। विशेषगरी अपार्टमेन्टमा बस्ने परिवारमा यो अभ्यास लोकप्रिय थियो।

४. बदामको पेस्टबाट पनि हिरा बनाउन सकिन्छ

हिरा र पिनट बटर दुवैमा कार्बन हुने भएकाले जर्मनीको बायेरिसेस जियोइन्स्टिट्युटका वैज्ञानिक ड्यान फ्रस्टले पिनट बटरबाट हिरा बनाउन सफल भएका थिए। उनले अत्यधिक तापक्रम र चाप प्रयोग गरेर पिनट बटरको कार्बनलाई स्फटिक (क्रिस्टल) मा रूपान्तरण गरेका थिए। यद्यपि यसका लागि कम्तीमा २,००० डिग्री फरेनहाइट तापक्रम आवश्यक पर्छ।

५. संसारको सबैभन्दा पुरानो केक करिब ४ हजार वर्ष पुरानो

स्विट्जरल्यान्डको भेभेस्थित अलिमेन्टारियम खाद्य सङ्ग्रहालयमा विश्वकै सबैभन्दा पुरानो केक राखिएको छ। सन् १९१३ मा प्राचीन इजिप्टको एउटा समाधिबाट फेला परेको यो केक गहुँको रोटीका दुई तहबीच दूध र महको मिश्रण राखेर बनाइएको थियो। यो केक करिब २२५१ देखि २१५७ ईसा पूर्वको अवधिको मानिन्छ।

६. न्युजिल्यान्डमा मानिसभन्दा भेडा धेरै छन्

न्युजिल्यान्डमा करिब ५२ लाख मानिस बसोबास गर्छन् भने त्यहाँ करिब २ करोड ३३ लाख भेडा छन्। अर्थात् प्रत्येक एक जनाका लागि औसतमा ४.४ वटा भेडा पर्छन्।

७. मोबाइल बिना बस्न डर लाग्ने अवस्थालाई ‘नोमोफोबिया’ भनिन्छ

मोबाइल फोन साथमा नहुँदा वा नेटवर्क नपाउँदा अत्यधिक चिन्ता हुने अवस्थालाई ‘नोमोफोबिया’ भनिन्छ। यसले पसिना आउने, शरीर काँप्ने, आत्तिने र सास फेर्न समेत गाह्रो हुने जस्ता लक्षण देखाउन सक्छ। विभिन्न अध्ययनअनुसार यो समस्या करिब ७३ प्रतिशत मानिसमा देखिन सक्छ।

८. एक समय टमाटरका चक्की औषधिका रूपमा प्रयोग गरिन्थे

सन् १८०० को दशकमा अमेरिकामा टमाटरलाई औषधि मान्ने चलन निकै लोकप्रिय भएको थियो। ओहायोका चिकित्सक डा. जोन कुक बेनेटले टमाटरले झाडापखाला, अपच, हैजा, जन्डिसलगायत धेरै रोग निको पार्न सक्ने दाबी गरेका थिए। त्यसपछि ‘डा. माइल्स कम्पाउन्ड एक्स्ट्र्याक्ट अफ टमाटो’ नामक टमाटरका चक्की बिक्रीमा आएका थिए। तर करिब सन् १८५० पछि मानिसहरूले चक्कीभन्दा टमाटर नै खान थाले।

९. टी–ब्यागको आविष्कार संयोगबस  भएको थियो

सन् १९०४ मा अमेरिकी चिया व्यापारी थोमस सुलिभानले युरोपमा चियाका नमुना साना रेशमी थैलामा पठाएका थिए। प्राप्तकर्ताले ती थैला नखोली सिधै तातो पानीमा डुबाएर चिया बनाए। यही संयोगपछि आज प्रयोग हुने टी–ब्यागको अवधारणा सुरु भएको मानिन्छ।

१०. बिरालाहरूका लागि पनि फिल्म महोत्सव आयोजना हुन्छ

बिरालोप्रेमीहरूका लागि विशेष रूपमा ‘क्याट भिडियो फेस्ट’ (नामक अन्तर्राष्ट्रिय फिल्म महोत्सव आयोजना गरिन्छ। यस महोत्सवमा करिब ७५ मिनेट लामो रमाइला र मनोरञ्जनात्मक बिरालोका छोटा भिडियोहरूको सङ्कलन प्रदर्शन गरिन्छ।

यो महोत्सव अमेरिका, क्यानडा, युरोप र सिङ्गापुरसहित विश्वभरका सयौँ चलचित्र हलमा प्रदर्शन भइसकेको छ। यदि तपाईं महोत्सवमा सहभागी हुन सक्नुभएन भने पनि इन्टरनेटमा उपलब्ध रमाइला बिरालोका भिडियो र ‘क्याट मिम’हरू हेरेर भरपूर मनोरञ्जन लिन सक्नुहुन्छ।