सिंहदरबारमा अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि ह्वीलचियरसहित सहजकर्ता सेवा सुरु


काठमाडौँ।

सिंहदरबारभित्र रहेका सरकारी कार्यालयहरूमा सेवा लिन आउने अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र सरकारी कर्मचारीको सहज आवागमनका लागि ह्वीलचियरसहित सहजकर्ता सेवा सुरु गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मुख्यसचिव सुमनराज अर्यालले बुधबार उक्त सेवाको शुभारम्भ गर्नुभएको हो।

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन तथा प्रचलित कानुनले सुनिश्चित गरेका नागरिक र श्रमिक अधिकारको कार्यान्वयन गर्दै सरकारले आफ्नो कानुनी तथा नैतिक दायित्वअनुरूप यो व्यवस्था लागू गरेको जनाएको छ।

सेवाको उद्घाटन गर्दै मुख्यसचिव अर्यालले सार्वजनिक सेवा लिन आउने सेवाग्राही तथा कार्यालयमा कार्यरत कर्मचारीले अब शारीरिक अवस्थाका कारण असहजता भोग्न नपर्ने बताउनुभयो। उहाँले सिंहदरबारभित्रका अधिकांश कार्यालय अपाङ्गमैत्री बनिसकेको र बाँकी कार्यालयमा पनि आवश्यक पूर्वाधार निर्माणको काम चाँडै सम्पन्न गरिने जानकारी दिनुभयो।

विगतमा अपाङ्गता भएका, अशक्त तथा ज्येष्ठ नागरिकले सरकारी सेवा लिन आउँदा भोग्दै आएका कठिनाइलाई क्रमशः अन्त्य गर्दै लैजाने सरकारको लक्ष्य रहेको उहाँको भनाइ थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार सेवा लिन आउने नागरिक र कार्यालयमा कार्यरत कर्मचारीलाई परिसरबाट सम्बन्धित शाखा वा कार्यकक्षसम्म सुरक्षित र सहज रूपमा पुर्‍याउने व्यवस्था गरिएको छ।

उहाँका अनुसार प्रत्येक ह्वीलचियरसँग एक जना तोकिएको कर्मचारी सहजकर्ताका रूपमा खटिनेछन्, जसले सेवाग्राहीलाई आवश्यक सहयोग उपलब्ध गराउनेछन्।

सरकारले यो व्यवस्थालाई दीर्घकालीन रूपमा निरन्तरता दिने जनाएको छ। साथै, आगामी दिनमा देशभरका अन्य सरकारी निकायमा पनि यस्तो सेवा विस्तार गर्ने तयारी गरिएको छ।