नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र देखिएको शक्ति संघर्षले एउटा गम्भीर प्रश्न उठाएको छ । के कांग्रेसले महाधिवेशनलाई केवल नेतृत्व परिवर्तनको प्रतिस्पर्धाका रूपमा अघि बढाउँदै छ वा संगठनलाई थप लोकतान्त्रिक, समावेशी र बलियो बनाउने अवसरका रूपमा उपयोग गर्न चाहन्छ ? अहिले विकसित घटनाक्रमले दोस्रोभन्दा पहिलो सम्भावना बलियो देखिन थालेको छ, जुन कुनै पनि लोकतान्त्रिक दलका लागि सुखद संकेत होइन । महाधिवेशन कुनै पनि राजनीतिक दलको सर्वोच्च लोकतान्त्रिक अभ्यास हो । त्यहाँ प्रतिस्पर्धा स्वाभाविक हुन्छ, विचार फरक हुनु पनि अस्वाभाविक होइन । तर, प्रतिस्पर्धा र विभाजनबीचको सीमारेखा मेटिन थाल्यो भने त्यसले संगठनको भविष्यलाई नै कमजोर बनाउँछ । नेपाली कांग्रेसभित्र अहिले देखिएको क्रियाशील सदस्यता विवाद, संगठन विस्तारको शैली र नेतृत्वबीचको अविश्वासले यही जोखिमतर्फ संकेत गरिरहेको छ । इतर पक्षले संवादमार्फत समाधान खोज्नुपर्ने धारणा सार्वजनिक गरिरहेको छ । उनीहरूको मागको मूल सार समान अवसर, पारदर्शी सदस्यता वितरण र सबै पक्षको सम्मानजनक सहभागितामा केन्द्रित देखिन्छ । अर्कोतर्फ, संस्थापन पक्षले संगठन विस्तार र महाधिवेशनको तयारीलाई तीव्र बनाइरहेको छ । दुवै पक्षका आफ्ना तर्क छन् । तर, संगठनात्मक शक्ति प्रदर्शनले मात्र विवाद समाधान हुँदैन, त्यसका लागि विश्वासको वातावरण अपरिहार्य हुन्छ ।
क्रियाशील सदस्यता कुनै सामान्य प्रशासनिक प्रक्रिया मात्र होइन । यही सदस्यताले महाधिवेशनका प्रतिनिधि चयन गर्छ, नेतृत्व निर्धारण गर्छ र अन्ततः पार्टीको भावी दिशा तय गर्छ । त्यसैले सदस्यता वितरणमा निष्पक्षता देखिनु मात्र पर्याप्त हुँदैन, त्यसप्रति सबै पक्षको विश्वास पनि कायम हुनुपर्छ । यदि एउटा समूहले प्रक्रिया नै निष्पक्ष छैन भन्ने अनुभूति गरिरह्यो भने त्यसबाट महाधिवेशन सम्पन्न भए पनि त्यसको वैधानिकता र नैतिक स्वीकार्यता कमजोर हुन सक्छ । नेपाली कांग्रेसले विगतमा पनि यस्ता आन्तरिक विवादहरू भोगेको छ । १४औँ महाधिवेशनपछि विभाग गठन, नियुक्ति, संगठन सञ्चालन र सदस्यता व्यवस्थापनजस्ता विषयमा पटक–पटक मतभेद सार्वजनिक भएका थिए । ती विवाद समाधानको स्थायी संयन्त्र निर्माण गर्न नसक्नु अहिलेको संकटको प्रमुख कारण बनेको देखिन्छ । नेतृत्व परिवर्तन भए पनि विवादका प्रकृति भने उस्तै रहनु संगठनात्मक सुधार अझै अधुरो रहेको संकेत हो । यसबीच एउटा अर्को पक्ष पनि उत्तिकै महत्वपूर्ण छ । मुलुक आर्थिक चुनौती, सुशासनको प्रश्न, युवाको पलायन र जनविश्वासको संकटसँग जुधिरहेको बेला प्रमुख लोकतान्त्रिक दल आफ्नै आन्तरिक विवादमा अल्झिएको देखिनु जनताका लागि निराशाजनक सन्देश हो । प्रतिपक्षमा रहँदा राष्ट्रिय मुद्दामा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने दल यदि आफ्नै संगठनभित्र विश्वास कायम गर्न असफल हुन्छ भने उसले लोकतान्त्रिक नेतृत्वको नैतिक आधार पनि कमजोर बनाउँछ ।
महाधिवेशन जित्ने वा हार्नेभन्दा ठूलो विषय कांग्रेसको संस्थागत भविष्य हो । नेतृत्व कुनै पनि पक्षको हातमा जाओस्, यदि प्रक्रिया नै विवादित बन्यो भने त्यसको असर लामो समयसम्म संगठनले व्यहोर्नुपर्नेछ । त्यसैले अहिले आवश्यक भएको कुरा शक्ति प्रदर्शन होइन, संवादको संस्कृति हो, बहुमतको दम्भ होइन, सहमतिको राजनीति हो र संगठनात्मक नियन्त्रण होइन, संस्थागत विश्वासको पुनर्निर्माण हो । महाधिवेशन सफल बनाउन सबैभन्दा पहिले नेतृत्वले विश्वास जित्नुपर्छ । संवादलाई औपचारिकतामा सीमित नराखी निष्कर्षमा पु¥याउने इच्छाशक्ति देखाउनुपर्छ । इतर पक्षले पनि केवल असन्तुष्टि अभिव्यक्त गर्ने होइन, समाधानमुखी लचकता प्रदर्शन गर्नुपर्छ । लोकतान्त्रिक दलको वास्तविक शक्ति आन्तरिक लोकतन्त्रबाट मापन हुन्छ, केवल नेतृत्वको प्रभावबाट होइन । नेपाली कांग्रेसले यदि १५औँ महाधिवेशनलाई प्रतिस्पर्धाभन्दा माथि उठाएर विश्वास पुनःस्थापनाको अवसर बनाउन सक्यो भने त्यो केवल पार्टीका लागि मात्र होइन, नेपालको लोकतान्त्रिक राजनीतिक संस्कृतिका लागि पनि सकारात्मक सन्देश हुनेछ । अन्यथा, महाधिवेशनले नयाँ नेतृत्व त जन्माउला तर पुरानै अविश्वासलाई अझ गहिरो बनाउने जोखिमबाट बच्न कठिन हुनेछ ।











प्रतिक्रिया