काठमाडौं
फिल्म विकास बोर्डले हाल प्रदर्शनरत चार नेपाली फिल्मको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक गरेको छ। बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार लालीबजार, रोल न.१, आइ एम जीत बहादुर र जाँडको आइतबारसम्मको व्यापार विवरण सार्वजनिक गरिएको हो।
तथ्यांकअनुसार वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको फिल्म लालीबजार सबैभन्दा धेरै कमाइ गर्ने नेपाली फिल्म बनेको छ। असार २१ गतेसम्म उक्त फिल्मले ९ करोड ३२ लाख ९ हजार रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ। यो अवधिमा फिल्मका ३ लाख १७ हजार १२ टिकट बिक्री भएका छन्।
यस्तै, जेठ १५ गतेदेखि प्रदर्शनमा आएको फिल्म रोल न.१ले असार २१ गतेसम्म १ करोड ७४ लाख ८५ हजार रुपैयाँको व्यापार गरेको छ। फिल्म हेर्न ६९ हजार १ सय ६६ दर्शक सिनेमाघर पुगेका छन्।
असार ५ गतेदेखि प्रदर्शनमा आएको आइ एम जीत बहादुरले हालसम्म ३१ लाख ३६ हजार रुपैयाँको व्यापार गरेको छ। फिल्मका ९ हजार ७ सय ४२ टिकट बिक्री भएको बोर्डले जनाएको छ।
हालै असार १२ गतेदेखि प्रदर्शनमा आएको फिल्म जाँडले भने सुरुआती दिनमा अपेक्षाकृत कमजोर व्यापार गरेको देखिएको छ। आइतबारसम्म उक्त फिल्मले १ लाख १६ हजार रुपैयाँको मात्र व्यापार गरेको छ भने ५ सय ६९ दर्शकले फिल्म हेरेका छन्।
फिल्म विकास बोर्डले सार्वजनिक गरेको यो तथ्यांकले हाल प्रदर्शनरत नेपाली फिल्ममध्ये ‘लालीबजार’ले बक्स अफिसमा स्पष्ट रूपमा अग्रता कायम गरेको देखाएको छ। साथै अन्य फिल्महरूले दर्शकको आकर्षण बढाउन अझै चुनौती सामना गरिरहेको संकेत पनि गरेको छ।











प्रतिक्रिया