आगामी भदौ १९ गते रिलिजमा आउने फिल्म ककाकिकीले फस्ट लुक्समार्फत गाउँ बचाउने अभियानलाई आफ्नो कथाको केन्द्रमा राखेको संकेत दिएको छ।
माया इन्टरटेन्मेन्टको प्रस्तुतिमा कमेडी दरबार टिमले निर्माण गरेको फिल्मको झण्डै तीन मिनेट लामो फस्ट लुक्स सार्वजनिक गरिएको हो। सार्वजनिक सामग्रीमा अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र अभिनेता महेश त्रिपाठी कुलेबारी नामको गाउँलाई कसरी परिवर्तन गर्ने भन्ने योजनामा जुटेको देखिन्छ। यही क्रममा रेखा थापाले गाउँका लागि काम गर्दा केही भइहाले के हुन्छ होला ? भन्ने चिन्ता व्यक्त गर्छिन्। त्यसको जवाफमा गौरी मल्ल एउटा सालिक त बनाउलान् नि भन्दै गाली गर्छिन्। त्यसपछि तृप्ति नाडकरले हामी नै मिस्त्री भएपछि सालिक कसले बनाइदेला त भन्दै दृश्यलाई हास्यपूर्ण बनाएकी छन्।
निर्देशकद्वय बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले आफूहरूले इमानदारीपूर्वक मेहनत गरेर फिल्म बनाएको जनाउँदै अब यसको मूल्यांकन दर्शकले गर्ने बताएका छन्। ‘हामी अहिले नै ठूलो दाबी गर्दैनौं, राम्रो फिल्म बनाउने प्रयास गरेका छौ“। बाँकी निर्णय दर्शकको हातमा छ’ निर्देशक बिक्कीको भनाइ छ। निर्देशक श्रद्धाले सम्पूर्ण कलाकार र प्राविधिक टोलीको साथका कारण आफू फिल्मप्रति विश्वस्त रहेको बताइन्।
कार्यक्रममा अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, दिया मास्के तथा अभिनेता महेश त्रिपाठी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु) र पवन खतिवडा (म्याकुरी)लगायत कलाकारले फिल्म राम्रो बनेको विश्वास दिलाए। उनीहरूले फिल्ममा काम गर्दाका अनुभव पनि सुनाएका थिए। फिल्ममा माउत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सिडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बिटी कान्छा), एलिसा भोग, सुवर्ण थापा, कमल देवकोटालगायतको पनि अभिनय रहेको छ।
बिक्की अग्रवाल, सरोज भण्डारी र विकास अर्यालको लेखन रहेको फिल्मका निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन्। फिल्ममा कन्सेप्ट सुमन अग्रवालको छ भने स्क्रिप्ट डक्टर विश्वास तिमल्सिना (बिटी कान्छा) रहेका छन्। सुदीप बरालको छाया“कन रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेशनलले लिएको छ।











प्रतिक्रिया