महाधिवेशन नजिकिँदै कांग्रेसमा शक्ति सङ्घर्ष तीव्र


–‘वार्तामा बसौँ’ भन्दै महतको प्रस्ताव

–संस्थापन भने सङ्गठन विस्तारमै व्यस्त

काठमाडौँ।

नेपाली कांग्रेसको १५औं महाधिवेशनको मिति नजिकिँदै जाँदा पार्टीभित्रको आन्तरिक शक्ति सङ्घर्ष थप सतहमा आएको छ । पार्टी सभापति गगन थापा नेतृत्वको संस्थापन पक्ष सङ्गठन विस्तार र क्रियाशील सदस्यता अद्यावधिकको कामलाई तीव्र बनाइरहेको छ भने अर्कोतर्फ पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, शेखर कोइरालालगायत इतर पक्ष भने संवाद र सहमतिबाट विवाद समाधान हुनुपर्ने अडानमा देखिएका छन् । यसले महाधिवेशनअघि कांग्रेसभित्रको ध्रुवीकरण अझ स्पष्ट बन्दै गएको सङ्केत गरेको छ ।

चुनदेवीमा सोमवार बसेको इतर पक्षको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता डा. महतले आफूहरू संस्थापन पक्षसँग जुनसुकै बेला वार्तामा बस्न तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले संस्थापन पक्षले वार्ताका लागि मिति प्रस्ताव गरे आफूहरू शेखर कोइरालासहित तत्काल छलफलमा सहभागी हुने बताउनुभयो । ‘कुन दिन बस्ने भनेर उहाँहरूले प्रस्ताव ल्याउनुस्, हामी त्यही दिन बस्न तयार छौँ । उहाँहरूको कुरा पनि सुनौँ, हाम्रो कुरा पनि राखौँ र त्यहीँ विवाद टुङ्ग्याऔँ’ –उहाँले भन्नुभयो ।

महतले वार्ताबिनै मिलाउन खोजिएको भन्ने प्रचारको कुनै अर्थ नरहेको टिप्पणी गर्दै मिलाउने वास्तविक इच्छाशक्ति भए समाधान कठिन नभएको बताउनुभयो । ‘साँच्चिकै मिलाउने हो भने नमिल्ने कुनै विषय छैन, नमिलाउने हो भने जे पनि हुन सक्छ’ –उहाँले भन्नुभयो । कांग्रेसभित्र अहिले सबैभन्दा ठूलो विवाद क्रियाशील सदस्यता अद्यावधिक र वितरणलाई लिएर छ । इतर पक्षले पार्टी छाडेकाबाहेक सबै पुराना सदस्यको सदस्यता अद्यावधिक हुनुपर्ने माग गर्दै आएको छ । महतले आफूहरूले अद्यावधिकको विरोध नगरेको तर कसैको गर्ने र कसैको नगर्ने शैली स्वीकार्य नहुने बताउनुभयो ।

उहाँका अनुसार सबै केन्द्रीय सदस्यको समायोजन सम्भव नभए पनि त्यसको वैकल्पिक प्रस्ताव आफूहरूले संस्थापन पक्षसमक्ष राखिसक्नुभएको छ । अब निर्णय गर्ने जिम्मेवारी संस्थापन पक्षकै काँधमा रहेको उहाँको भनाइ छ ।

यता सभापति थापा पक्ष भने महाधिवेशनको तयारीलाई केन्द्रमा राखेर देशभर सङ्गठन सुदृढीकरण, क्रियाशील सदस्यता अद्यावधिक र भ्रातृ तथा शुभेच्छुक संस्थाको व्यवस्थापनमा सक्रिय देखिएको छ । संस्थापन पक्षको बुझाइ सङ्गठनात्मक तयारी पूरा गरेपछि महाधिवेशनमा आफ्नो पकड अझ बलियो हुने भन्ने छ ।
तर इतर पक्षले भने पर्याप्त संवादबिना एकपक्षीय ढङ्गले सदस्यता वितरण र सङ्गठन विस्तार भए महाधिवेशनको निष्पक्षतामै प्रश्न उठ्ने चेतावनी दिँदै आएको छ । त्यसैले उनीहरूले पटक–पटक सहमतिको वातावरण बनाउन नेतृत्वलाई दबाब दिइरहेका छन् ।

कांग्रेसभित्रको विवाद नयाँ होइन । १४औँ महाधिवेशनपछि नै संस्थापन र इतर समूहबीच सङ्गठन सञ्चालन, नियुक्ति, विभाग गठनदेखि क्रियाशील सदस्यतासम्मका विषयमा मतभेद रहँदै आएको छ । अहिले महाधिवेशन नजिकिँदै जाँदा ती विवाद फेरि सतहमा आएका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार अहिलेको अवस्था हेर्दा दुवै पक्ष वार्ताको आवश्यकता स्वीकार गरिरहेको देखिए पनि अविश्वासको खाडल अझै गहिरो बन्दै गएको छ । संस्थापन पक्ष सङ्गठनात्मक तयारीलाई प्राथमिकता दिइरहेको छ भने इतर पक्ष समान सहभागिता र पारदर्शिताको सुनिश्चितता खोजिरहेको छ ।यदि छिट्टै सहमतिको सूत्र भेटिएन भने महाधिवेशनको तयारीसँगै आन्तरिक प्रतिस्पर्धा अझ तीव्र हुने र त्यसले पार्टी एकतामाथि समेत असर पार्न सक्ने आँकलन भइरहेको छ । त्यसैले कांग्रेसभित्र अहिलेको सबैभन्दा ठूलो चुनौती नेतृत्व चयनभन्दा पहिले विश्वासको वातावरण निर्माण गर्नु बनेको राजनीतिक वृत्तको विश्लेषण छ ।