एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम इनर्जी ड्रिंक्स


काठमाडौं ।

एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित एक्स्ट्रिम इनर्जी ड्रिंक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर बनेको छ।

कम्पनीले सोमबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग टाइटल स्पोन्सरसिप सम्झौता गरेको हो। कम्पनीका अनुसार नेपाली खेलकुदको व्यावसायिक इतिहासमा निजी क्षेत्रबाट भएको यो सम्भवतः सबैभन्दा ठूलो फ्रेन्चाइज स्पोन्सरसिप सम्झौता हो।

सम्झौतापत्रमा एग्रो थाई फुड्स प्रालिकी बिजनेस हेड सोनिया राणा तथा सम्बन्धित टोलीका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार एक्स्ट्रिम इनर्जी ड्रिंक्स आगामी तीन वर्षसम्म सम्बन्धित टोलीहरूको प्रमुख प्रायोजक रहनेछ। यस अवधिमा टोलीहरूको खेल जर्सीको अगाडिको प्रमुख स्थानमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको लोगो रहने कम्पनीले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले यस सहकार्यले नेपाली क्रिकेटको दिगो विकास, खेलाडीहरूको भविष्य र समग्र क्रिकेट संरचनालाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

एग्रो थाई फुड्स प्रालिका नेसनल सेल्स म्यानेजर कृष्ण दाहालले एनपीएल नेपाली क्रिकेटकै सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता भएकाले ६ टोलीसँग टाइटल स्पोन्सरका रूपमा सहकार्य गर्न पाउनु कम्पनीका लागि गर्वको विषय भएको बताए। उनले यो साझेदारी ब्रान्ड प्रवर्द्धनमा मात्र सीमित नभई नेपाली क्रिकेटको दीर्घकालीन विकासमा केन्द्रित रहेको उल्लेख गरे।

एक्स्ट्रिम इनर्जी ड्रिंक्स विगत केही वर्षदेखि नेपाली खेलकुद क्षेत्रमा सक्रिय रूपमा लगानी गर्दै आएको कम्पनी हो। कम्पनी नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रायोजकसमेत रहेको छ भने क्रिकेट, फुटबल, भलिबल, म्याराथनलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहकार्य गर्दै आएको जनाएको छ।

कम्पनीले दसैंपछि आयोजना हुने एनपीएलको तेस्रो संस्करणअघि भएको यो सम्झौताले नेपाली खेलकुदमा निजी क्षेत्रको बढ्दो विश्वास र लगानीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।