१० शय्याको अस्पताल सञ्चालनको तयारी

0
Shares

लमजुङ। 

मर्स्याङदी गाउँपालिका–७, ङादीमा निर्माण सम्पन्न भएको १० शय्याको मर्स्याङदी अस्पताल भवन औपचारिक रुपमा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

आर्थिक वर्ष २०७७÷०७८ मा ठेक्का सम्झौतामार्फत निर्माण सुरु भएको अस्पताल भवन निर्धारित प्राविधिक मापदण्डअनुसार सम्पन्न भएपछि निर्माण कम्पनीले गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

करिब ६ करोड १८ लाख ७९ हजार ४ सय ८१ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको आधुनिक आरसीसी संरचनाको दुईतले अस्पताल भवनमा बिरामी उपचारका लागि आवश्यक उपचार कक्ष, १५ वटा शौचालय, स्यानिटरी तथा विद्युतीय जडान, खानेपानी आपूर्तिका लागि मोटर र ट्याङ्की, १०० केभीए क्षमताको ट्रान्सफर्मर लगायत आवश्यक पूर्वाधार निर्माण गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो ।  

अध्यक्ष गुरुङका अनुसार अस्पताल भवन निर्माण सम्पन्न भएसँगै आगामी आर्थिक वर्ष २०८३-०८४ देखि अस्पताल सञ्चालनमा ल्याउने तयारी तीव्र बनाइएको छ । आवश्यक स्वास्थ्यकर्मी व्यवस्थापन, स्वास्थ्य उपकरण जडान तथा सेवा सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।

अस्पताल सञ्चालनमा आएपछि मर्स्याङदी गाउँपालिकाका नागरिकले आफ्नै पालिकाभित्र गुणस्तरीय, सहज र पहुँचयोग्य स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ । यसले सामान्य उपचारका लागि जिल्ला सदरमुकाम वा अन्य स्थान धाउनुपर्ने बाध्यता समेत कम हुने विश्वास गाउँपालिकाले लिएको छ ।

स्थानीय तहमा स्वास्थ्य पूर्वाधार विस्तारको महत्त्वपूर्ण उपलब्धिका रुपमा हेरिएको यो अस्पतालले मर्स्याङदीवासीको स्वास्थ्य सेवामा नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ ।