साउन २६ देखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’, ४० भन्दा बढी नयाँ सवारी तथा उत्पादन सार्वजनिक हुने


काठमाडौं ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आगामी साउन २६ देखि ३१ गते (११–१६ अगस्ट २०२६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ।

सोमबार काठमाडौंस्थित द सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत एक्स्पोका मुख्य विवरण सार्वजनिक गर्दै आयोजकले यस वर्षको प्रदर्शनीमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड तथा ४० भन्दा बढी नयाँ सवारीसाधन तथा उत्पादन सार्वजनिक गरिने जनाएको हो।

आयोजकका अनुसार एक्स्पोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, कमर्सियल सवारी, विद्युतीय तथा हाइब्रिड सवारी, मोबिलिटी प्रविधि, सेवा तथा अन्य नवीनतम उत्पादनहरू प्रदर्शन गरिनेछन्।

कार्यक्रममा नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले नाइमा एक वर्षअघि २१ सदस्य कम्पनीबाट स्थापना भएको र हाल ३६ प्रमुख सदस्य कम्पनीमा विस्तार भइसकेको जानकारी दिइन्। उनले यो विस्तारले नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रमा एकीकृत प्लेटफर्मको आवश्यकता र नाइमाप्रतिको उद्योगको विश्वास झल्काउने बताइन्।

उनले नाइमा एक्स्पो केवल सवारी प्रदर्शनीमा सीमित नभई मोबिलिटी, रोजगारी, उद्यमशीलता, सार्वजनिक सेवा प्रवाह तथा आर्थिक विकाससँग जोडिएको अभियान भएको उल्लेख गरिन्। गत वर्ष नाइमाले ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, ट्राफिक प्रहरीका लागि क्षमता अभिवृद्धि तालिम, सरकारी निकायसँग सहकार्य तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको पनि उनले जानकारी दिइन्।

अध्यक्ष वैद्यका अनुसार एक्स्पोबाट प्राप्त टिकट आम्दानीको कम्तीमा १० प्रतिशत अनुसन्धान फेलोसिप तथा तालिम कार्यक्रमका लागि छुट्याइनेछ। साथै, आगामी दिनमा मोबिलिटी क्षेत्रमा सीप विकास र रोजगारी सिर्जनामा केन्द्रित कार्यक्रम सञ्चालन गरिने योजना पनि रहेको उनले बताइन्।

नाइमाले सदस्य कम्पनी तथा उद्योग क्षेत्रबाट आएको उच्च मागलाई ध्यानमा राख्दै भविष्यमा कमर्सियल मोबिलिटी ब्रान्डलाई लक्षित छुट्टै मोबिलिटी एक्स्पो आयोजना गर्ने सम्भावनाबारे पनि अध्ययन गरिरहेको जनाएको छ।

एक्स्पो व्यवस्थापन समितिका संयोजक गौरव शारडाले यस वर्षको प्रदर्शनीलाई अझ व्यवस्थित, समावेशी र आगन्तुकमैत्री बनाइने बताए। उनका अनुसार मनसुनलाई लक्षित विशेष व्यवस्थासँगै अपाङ्गता भएका व्यक्तिका लागि सहज पहुँच सुनिश्चित गरिनेछ। नेपाल पुलिस क्लबमा पार्किङ सुविधा उपलब्ध हुनेछ भने पठाओले राइड पार्टनरका रूपमा छुटसहितको सेवा दिनेछ। युनियन पेमार्फत क्यूआरबाट टिकट खरिद गर्ने आगन्तुकले क्यासब्याक सुविधा पनि पाउनेछन्।

यस वर्ष एक्स्पोको अर्को आकर्षणका रूपमा नेपाल पुलिस क्लबको ‘ब्लु पेभिलियन’मा निःशुल्क ‘लर्निङ सेसन’ सञ्चालन गरिनेछ। ती सत्रमा मोबिलिटी, सडक सुरक्षा, प्रविधि, उपभोक्ता सचेतना, सीप, रोजगारी तथा नेपालको मोबिलिटी क्षेत्रको भविष्यका विषयमा विज्ञहरूले प्रस्तुति दिनेछन्।

आयोजकका अनुसार ग्लोबल आईएमई बैंक को–स्पोन्सर तथा रेड बुल ‘पावर्ड बाइ’ स्पोन्सरका रूपमा आबद्ध छन्। एनएमबी बैंक, सिद्धार्थ बैंक, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, पठाओ, आईएमई खल्ती, नर्भिक इन्टरनेसनल अस्पताल, वर्ल्डलिंक लगायत विभिन्न संस्था एक्स्पोका साझेदार रहेका छन्।

नाइमाले परिवार, विद्यार्थी, व्यवसायी, नीति निर्माता, सञ्चारकर्मी तथा सर्वसाधारणलाई साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी हुन आग्रह गरेको छ।