पुस्तक–चर्चा : मात्रा मिलेको औषधिझैँ ‘डोपामिन’ कथा–सङ्ग्रह

188
Shares

मानिसको शरीर मात्र नभएर मन पनि बिरामी हुन्छ, तर मनको रोग न एक्स–रेमा देखिन्छ, न त कुनै प्रयोगशालाको रिपोर्टमै स्पष्ट हुन्छ । यतिसम्म कि कतिपय मानसिक पीडा शब्दमा व्यक्त गर्नसमेत कठिन हुने गर्छ । आधुनिक जीवनको यही अदृश्य यथार्थलाई कथाको माध्यमबाट सशक्तरूपमा प्रस्तुत गर्नुभएको छ वरिष्ठ पत्रकार तथा साहित्यकार लक्ष्मण अधिकारीले, आफ्नो दोस्रो कथा–सङ्ग्रह ‘डोपामिन’मार्फत ।

कृतिको शीर्षक ‘डोपामिन’ शब्द आफैँमा अर्थपूर्ण छ । डोपामिन शरीरमा उत्पादन हुने एउटा महत्वपूर्ण न्युरोट्रान्समिटर हो, जसलाई सामान्यतया ‘फिल–गुड’ हर्मोनका रूपमा चिनिन्छ । यसले मानिसलाई खुशी, प्रेरणा, सन्तुष्टि र ऊर्जा प्रदान गर्छ । यही वैज्ञानिक अवधारणालाई लेखक अधिकारीले साहित्यिक प्रतीकका रूपमा प्रयोग गर्नुभएको छ ।

कामना न्यूज पब्लिकेसन्स्, काठमाडौँद्वारा प्रकाशित यस ‘डोपामिन’ कथा–सङ्ग्रहमा १८ वटा कथा समावेश गरिएका छन् । यसमा समावेश अधिकांश कथामा मानसिक रूपमा पीडित, समाजबाट उपेक्षित वा जीवनका जटिल परिस्थितिसँग संघर्ष गरिरहेका पात्रहरू छन् । तिनीहरु कठोर यथार्थसँग जुधिरहेका छन्, तर उनीहरूभित्र कतै न कतै आशा, प्रेम र बाँच्ने इच्छा जीवित छ । पीडाभित्र लुकेको यही आशाको खोज नै यस कथा–सङ्ग्रहको आशय बनेको छ ।

‘डोपामिन’का कथाहरू केवल कल्पनामा आधारित छैनन्, तिनमा समाजको वास्तविक जीवन बोल्छ । लेखक अधिकारी स्वयं स्वास्थ्य पत्रकार भएको र स्वास्थ्य–विज्ञानका क्षेत्रमा चासो राख्ने भएकाले स्वास्थ्य संस्थाभित्रको यथार्थ, चिकित्सकीय नैतिकता, बिरामीको मनोविज्ञान तथा समाजको बढ्दो मानसिक स्वास्थ्य समस्यालाई उहाँले गहन किसिमले कथामा रूपान्तरण गर्नुभएको छ । कथाहरू पढ्दा ती केवल कथा नभई जीवनका भोगाइ र अनुभवका दस्तावेजजस्ता लाग्छन् ।

सङ्ग्रहको पहिलो कथा ‘रेफर नहुँदा’ले स्वास्थ्य सेवाभित्रको गैरजिम्मेवारी र त्यसले निम्त्याउने मानवीय क्षतिको मार्मिक चित्र प्रस्तुत गरेको छ । एक स्वास्थ्यकर्मीले स्वार्थवश बिरामीलाई रेफर नगरिदिँदा एउटा मानिसको जीवन कसरी समाप्त हुन सक्छ भन्ने यथार्थले पाठकलाई झस्काउँछ । यतिसम्म कि सिलाउन दिएको नयाँ कमिज ल्याएर लगाउन नपाई बिरामीको मृत्यु हुन्छ । यो कथाले चिकित्सकीय जिम्मेवारीको गम्भीर पक्षलाई उजागर गरेको छ ।

त्यस्तै अन्त्यमा ‘धर्मपुत्र’ नामको कथा पस्केर पुस्तकलाई बिट मारिएको छ । सङ्ग्रहको यो अन्तिम कथाले सामाजिक तथा भावनात्मक दुवै तहमा गहिरो प्रभाव पार्छ । धर्मपुत्र बनाउने नाममा नेपाली बालबालिकालाई विदेश पु¥याइने प्रवृत्ति र त्यसमा लुकेको रहस्य अनि परिवार तथा संस्कृतिबाट टाढिने पीडालाई कथाले संवेदनशील ढंगले चित्रण गरेको छ । गाउँमा रहेका बाबुआमाको पीडा र विदेशमा आफ्नो माटो सम्झेर तड्पिने बालमनोविज्ञानले पाठकलाई भावुक बनाउँछ ।
यस कृतिको आठौँ कथा ‘न सुसाइड, न हनिमुन’ उत्तिकै मार्मिक छ । विवाह गर्नासाथ हनिमुन पनि नमनाई अमेरिका पुगेको श्रीमान्को समस्या एकातिर छ भने यता श्रीमती लोग्नेको सामीप्यता नपाउँदा आत्महत्या गर्न पासोमा झुन्डिन पुग्छिन् । तर न उनको सुसाइड सफल हुन्छ, न हनिमुनको इच्छा पूरा हुन्छ । कथा कसरी अन्त्य होला भनेर पाठकलाई खुल्दुली बनाइरहन सक्नु कथाकारको खूबीलाई मान्नै पर्छ ।

बाँकी अन्य कथाहरूमा पनि लेखकले मानसिक विकृति, सामाजिक विभेद, प्रेम, करुणा, एक्लोपन र मानवीय सम्बन्धका अनेक पक्षलाई कलात्मकरूपमा प्रस्तुत गर्नुभएको छ । पात्रहरूको अन्तरमनमा चलिरहेको द्वन्द्वलाई मनोवैज्ञानिक आधारमा प्रस्तुत गर्नु लेखकको विशेष क्षमता मान्न सकिन्छ । पात्रहरूको मनस्थिति चित्रणमा लेखक सफल देखिनुहुन्छ ।

गहिरो मानसिक पीडा र संघर्ष बोकेर बाँचिरहेका मानिसहरूको कथा यस पुस्तकको मूल विषय हो । अर्को कुरा, यो कृति कोरा कल्पना मात्र होइन, यसमा समाजको यथार्थता पाइन्छ । नेपाली कथा साहित्यमा मानसिक स्वास्थ्यजस्तो अपेक्षाकृत कम उठाइने विषयलाई केन्द्रमा राखेर लेखिएको यो कृति विषय चयनका हिसाबले पनि उत्तिकै महत्वपूर्ण मान्न सकिन्छ ।

लेखकको भाषा सरल, प्रवाहपूर्ण र सहज छ । पत्रकारिताको पृष्ठभूमि भएका कारण लेखक अधिकारीको अभिव्यक्ति स्पष्ट र अनावश्यक अलङ्काररहित देखिन्छ । कथाहरूमा साहित्यिक सौन्दर्य र भावनात्मक गहिराइ भने प्रभावकारीरूपमा उपस्थित छ । यसले गर्दा कथाहरू बौद्धिक रूपमा मात्र होइन, भावनात्मक रूपमा पनि पाठकसँग जोडिन सफल देखिन्छन् ।

कथाविज्ञका रुपमा चिनिनुहुने डा. दयाराम श्रेष्ठले आफ्नो मन्तव्यमा ‘डोपामिन’ कथा–सङ्ग्रहलाई ‘मात्रा मिलेको औषधि’ भनी उल्लेख गर्नुभएको छ । साथै डा. श्रेष्ठले लेखक अधिकारी ‘मर्फिन’बाट ‘डोपामिन’सम्म आइपुगेको उल्लेख गर्दै भविष्यमा ‘मेलाटोनिन’को अपेक्षा व्यक्त गर्नुभएको छ । उहाँको यो टिप्पणीले एकातिर लेखकको सृजनशील क्षमता दर्शाएको छ भने अर्कोतिर सिर्जनात्मक यात्रालाई निरन्तरता दिनसमेत प्रेरित गरेको छ ।

त्यस्तै पत्रकार एवं साहित्यकार श्रीरामसिंह बस्नेतले समाजमा दबिएका विकृति र विसंगतिलाई शब्दमार्फत उजागर गरेर समाजलाई ऐना देखाउने काम लेखकले गरेको बताउनुभएको छ । उल्लिखित डा. श्रेष्ठ र बस्नेत दुवैका टिप्पणीले लेखक अधिकारीको दृष्टिकोण पुष्टि गर्नुका साथै पुस्तकको ओज बढाएको छ ।
नेपाली समाजका जटिल मनोवैज्ञानिक र सामाजिक यथार्थलाई बुझ्न चाहने पाठकका लागि ‘डोपामिन’ पठनीय कृति हो । यसले मनोरञ्जन मात्र प्रदान गर्दैन, सोच्न, महसुस गर्न र आफ्नै वरपरका मानिसहरूको अदृश्य पीडालाई बुझ्न प्रेरित गर्छ ।

लगभग २ सय पृष्ठको यस कथा–सङ्ग्रहको मूल्य रु. ५७५।– रहेको छ । पीडाभित्र आशा, निराशाभित्र सम्भावना र जीवनका कठिन क्षणभित्र मानवीय संवेदनाको उज्यालो खोज्ने प्रयासका कारण ‘डोपामिन’ नेपाली कथा साहित्यको उल्लेखनीय र मननयोग्य कथा–सङ्ग्रहका रूपमा स्थापित हुन सफल भएको महसुस गर्न सकिन्छ ।