देश सधैँ आयातमुखी भयो, थोरै होइन, आयात धेरै छ र व्यापारघाटा अनि ऋण पनि तीव्र । युवा बेरोजगार छन्, खाद्यान्नमै हामी आत्मनिर्भर भएनौँ । पेट्रोलियम पदार्थको आयात अत्यधिक छ । विदेशमा बेस्सरी मोल घट्दा यहाँ घटेन, साइत हेरेर केही घटाइए पनि पेट्रोल पम्पहरुले घटाइएको मूल्यमा मौज्दात तेल दिन नसक्ने भन्दै पम्पहरु बन्द गरेको अवस्था थियो । तर पछि खोल्न बाध्य भए । यहाँको अर्थतन्त्र सुस्त छ, बजार त करिब अराजक छ हाम्रो ।
विगतलाई भुलेर देश समृद्ध हुन्न । विरासतलाई भत्काएर देश सुखी हुन्न । इतिहासलाई गर्व गर्दा देश प्रगतिपथतिर लम्कन्छ । अरु देश समृद्ध भए, हामी तलै छौँ, ग्रे–लिस्टमा पनि छौँ । मुख्य व्यापारी पनि तनावमा छन्, कोही त कठघरामा पनि छन् । आधारभूत आवश्यकताकै खोजीमा रह्यौँ हामी सधैँ, बरु भुटान माथि उक्लियो, त्यहीँ विजुली, खाद्यान्न धेरै सस्तो छ हामीभन्दा । राजनीतिक परिवेश असहज भयो यहाँ । हामीले मध्यम स्तर भनौँ विकासोन्मुखको स्तर पाउन सकेका छैनौँ, समय सार्दै छौँ बरु । सप्mट लोनदेखि भन्सार छुटको सुविधा नपाइएला भन्ने डर छ । अस्तिजस्तो लाग्छ, धान बढी भएर निर्यातका लागि कम्मर भाँची–भाँची थापाथलीको धान गोदाममा बोकेर लगेको, अहिलेजस्तो यातायत सुविधा थिएन । धान–चामल निर्यातमा देश विश्वको पाँचौँ स्थानमा थियो र गुणस्तरको जूट निर्यातमा तेस्रो स्थानमा ।
१७ सालमा देश आईसीयुबाट उम्किएको थियो । गत भाद्रको अन्तिम साता पनि देश आईसीयुमै थियो । बालुवाटार भागेको थियो, शीतल निवासले मुख देखाएन, संकटमा राष्ट्रका नाममा सम्बोधन सेनापतिले गरे, पृष्ठभूमिमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको फोटो राखेर । सिंहदरबार पूरै जलिसकेको थियो, जसलाई हामीले सत्तोश्राप गरिरह्यौँ, राणाहरुले बनाएका थिए त्यो । त्यो मात्रै होइन, बहादुर भवन, बबरमहल, सिंहमहलदेखि थुप्रै संरचना श्री ३ राणाहरुले तयार गरे, जहाँ बसेर चार दशक पछिल्ला निर्वाचितहरुले राजपाठ गरे । तर देशको शिर सिंहदरबारलगायतका विशाल पूर्वाधारहरुलाई बचाउन सकेनन् ।
आज हामी बेरोजगारीको चरम संकटमा छौँ । खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरुको आयातमा छौँ । आत्मनिर्भरता भन्ने हाम्रो नारा छ तर हर विषयमा परनिर्भरता छ । इतिहासलाई श्राप गर्दै छौँ हामी, पुर्खालाई चिन्न नसकेर । यहाँका शासकले वेलायतको भ्रमण गरे बडो इज्जत पाएर । अमेरिका, चीन र भारतको भ्रमण गरे इज्जतका साथ । असंलग्न परराष्ट्रनीतिको रक्षा गरे । कोही कसैलाई लाखापाखा लगाएनन्, सबैतिरबाट सहयोगको साथ पाए । पूर्वको औद्योगिक नगरी वराटनगर ऐतिहासिक उद्योग विराटनगर जूट मिल सन् १९३६ मै स्थापित हो, जहाँबाट बीपीले राजनीतिक आन्दोलन शुरु गरे । सन् १९७६ मा एडीबीको समेत सहयोगमा हेटौँडा सिमेन्ट कारखाना खोलियो । वि.सं. २०१६ मा अमेरिकी सरकारको सहयोगमा काठमाडाँैमा बालाजु औद्योगिक क्षेत्रको स्थापना भयो । वि.सं. २०२० मा भारत सरकारकै सहयोगमा पाटन औद्योगिक क्षेत्रको स्थापना भयो । अमेरिकी सरकारको सहयोगमा हेटौँडा औद्योगिक क्षेत्रको स्थापना वि.सं. २०२९मा भयो र वि.सं. २०३० मा भारत सरकारकै सहयोगमा सुनसरीको धरान र बाँकेको नेपालगन्जमा औद्योगिक क्षेत्रको स्थापना भयो । वि.सं. २०३६ मा जर्मनी सरकारको सहयोगमा भक्तपुरमा र वि.सं. २०३८ मा नेदरल्यान्ड सरकारको सहयोगमा सुर्खेतको वीरेन्द्रनगरमा औद्योगिक क्षेत्रको स्थापना भयो । वि.सं. २०४१ मा स्वदेशको लगानीमा सबैभन्दा सानो ५३ रोपनी जग्गामा धनकुटामा औद्योगिक क्षेत्र स्थापित भयो । पछि भारत सरकारको सहयोगमा वि.सं. २०४४ मा राजविराजमा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको स्थापना पछिल्लो औद्योगिक क्षेत्र थियोे ।
देशमा योजनाबद्ध विकासको थालनी २०१३ सालमा र यति नै बेला राष्ट्रसेवक ऐन निजामती सेवा ऐन आयो भने नेपाल राष्ट्र बैँकको स्थापनादेखि भाषा साहित्यका लागि नेपाल प्रज्ञा प्रतिष्ठान र शैक्षिक आधारशिला तय गर्न त्रिभुवन विश्वविद्यालयको स्थापना गरियो । सीमा रेखदेखदेखि सुकुम्बासी समस्याका लागि पहाडबाट तराईमा नेपालीहरुको बसाइँ सराइ र बस्ती विकास गर्दै कन्चनपुरमा पुनर्वासको व्यवस्था गरियो । आप्mनो भाषा शिला खोज्नुपर्ने अवस्था, आप्mनो एक भूगोलबाट अर्को भूगोल पार गर्दा छिमेकीको इलाका भई आउजाउ गर्नुपर्ने देखेर पूर्व–पश्चिम राजमार्गको निर्माण भयो । पोखरासम्म जाने सुविधा नहँुदा सिद्धार्थ राजमार्ग, तिब्बतसम्मको पहँुचका लागि अरनिको राजमार्ग, वीरगन्जबाट अत्यावश्यक खाद्यान्न, लत्ताकपडा ढुवानीका लागि थानकोट, कुलेश्वरसम्मको रोपवे र तराईका केही स्थानमा रेलमार्ग आदि धेरै पूर्वाधारको तय त्यति बेला नै भयो ।
यसै गरी अन्तर्राष्ट्रिय स्तरको कागज भृकुटी कागज कारखाना, स्वदेशकै उत्पादन बाँसबारी छालाजुत्ता कारखाना, हेटौँडा र बालाजुमा उन्नत कपडा उद्योग, बाँकेमा कपास कारखाना, वीरगन्जमा सुगर मिल, चोभारमा हिमाल सिमेन्ट, भक्तपुर र हरिसिद्धिमा इँटा टायल कारखाना, निर्यातका लागि रोजिन एन्ड टर्पेन्टाइन, मेटल उत्पादनका लागि मेटल कम्पनी स्थापना भए । एनसीसीएन, प्राविधिक जनशक्तिका लागि सीटीईभीटी, धागो उत्पादन र कपडाका लागि बुटवल धागो कारखाना, संस्कृत भाषा जगेर्नाका लागि संस्कृत विश्वविद्यालय, सर्वधर्मका लागि दरबारको आडैमा मस्जिदको स्थापना, पशुपति संरक्षणका लागि पशुपति क्षेत्र विकास कोष स्थापना भए । स्वयम्भू, बौद्ध संरक्षणको लागि उदारता देखाइयो । त्रिभुवन राजपथ, नेसनल ट्रेडिङ कम्पनी, भक्तपुर–काठमाडौँ जोड्ने ट्रली बस, साझा बस सेवा यी सबै अतीतको छोटो समयका प्रगति थिए, जसले उत्पादन, सेवा र रोजगारी दिए । अहिले दिनहुँ ३ हजार युवाहरु विदेशिने क्रम छ । जग्गा हदबन्दी व्यवस्था, भूमि सुधार ऐन, नयाँ मुुलुकी ऐन, त्रिविविको स्थापना कति छन् इतिहास । २०१७ सालदेखिको समयलाई गाली गर्ने हामी त्यो उर्बर समयमा बनेकालाई सिनित्तै खायौँ हामीले । अहिले देश धर्मसंकटमा छ । त्यति बेलाको कृषि औजार कारखाना कति कामयावी थियो, अहिले मल छैन किसानलाई, बीउ पनि आयात, धान रोप्ने भन्दा बीउ माला लगाउने पनि हामी नै । शनिबार बिदामा त सधैँ खेतबारीमा मेलापात गर्ने गरिन्थ्यो, अब त आइतबारको बिदा पनि बेकामी छ । कृषि बाली संरक्षणकै लागि कृषि अनुसन्धान परिषद्, अब्बल टायर निर्माणका लागि गोरखकाली रबर उद्योग, नून र दुर्गममा खाद्यान्न वितरणका लागि साल्ट ट्रेडिङ कर्पोरेसन ती दिन कथा भए अहिले ।
हरेक श्वास–प्रश्वासमा करको मार थिएन । एक कित्ता जमिनको सुका, मोहोर, एक रुपियाँ बढी थिएन कर । सम्पत्ति करको कुरै थिएन, न लाभकर वा आजजस्तो सडकबाटै जरिवाना उठाउने बेस्सरी । निर्धक्क व्यवसायीहरुले उद्योगधन्दा चलाउन पाउँथे । अन्तशुल्क, भन्सार आजको गतिमा थिएन । राजनीतिकर्मीहरु डराउँथे । विधिको शासनका लागि मन्त्री नयिुक्तिसँगै राजीनामा पत्रमा दस्तखत गराइन्थ्यो र मन्त्रीको निस्कासन भरे बेलुकी रेडियोबाट खबर आउँथ्यो, भ्रष्टाचारको गन्ध आएमा । त्यही एनसीसीएन जसले सिंहदरबार पुनर्निर्माण गरेको पनि थियो । त्यति बेला देश बनाउने हुटुहुटी थियो, अहिले बिगार्नेमा बढी देखियो । योजनाबद्ध विकासको थालनी र त्यसपूर्वको इतिहासदेखि अनवरत देशको साक्षी बस्दै आएको छ पंक्तिकार । अहिलेको जस्तो विषम परिवेश पहिले थिएन भन्नुपरेको छ । देश अहिले पनि आईसीयुमै छ, ऋणको, व्यापारघाटाको, परनिर्भरताको, बेरोजगारीको, सुकुम्बासीहरुको, भ्रष्टाचारको, विधिको शासनको खोक्रो नाराको, बेचैनी र कुण्ठाको, महँगी र सर्वत्र त्रासदीय वातावरणको, जलवायु संकटको, विदेशीहरुको बगैँचाको, भूराजनीतिको, युवा पलायन र प्राप्त विप्रेषणले केवल उपभोगमा खर्चेको, पूँजी निर्माण नगरेको ।
गतसाल भाद्रमा सेनाले सम्बोधन राष्ट्र निर्माताको फोटो राखेर गरेको थियो । यसले दिएको सन्देशलाई हल्कारुपमा हेरियो भने देशमा फेरि अनर्थ हुन सक्छ । नेपाली सेनाले सकेसम्म लोकतन्त्र नमास्न गरिएको प्रयासको रुपमा पनि हेरिनुपर्छ यसलाई । मेरा साना दुःखले आज्र्याको मुलुक होइन भन्थे पुर्खाहरु, पछि पलाएकाहरुले देश बोक्न सकेनन् । उनकै पुस्ताले म मरे पनि मेरो देश बाँचिरहोस् भन्नुमा अन्तरनिहित तादात्म्यता पनि बुभ्mनु जरुरी छ । देश बनाउन धेरै उमेर चाहिन्न । अस्ति भाद्रको संकटमा देखाइएको राष्ट्र निर्माताको फोटाको मर्म राष्ट्रिय एकताको सन्देश हो, स्वाधीनता र आत्मनिर्भरताको खोजी हो, स्वदेशी उत्पादन र स्वदेशी नै शेलीको हो । औषधि उद्योग खोलियो त्यति बेला । अहिले पनि हामी जडीबुटीमा धनी छौँ तर उपयोग गर्न सकेका छैनौँ । पर्याप्त नदीनाला छन् तर विश्वमै महँगो बिजुलीमा छौँ । कृषिप्रधान देशमा अनाज र बीउबीजन आयातमा छौँ । संसारकै सस्तो श्रमिक निर्यात गर्दै छौँ । हुन त यतिखेर परिवेश बदलिएको छ । नेतत्वले राष्ट्र निर्माणमा सरिक हुने अवसर पाएको छ, जनताको गला नरेटीकनै बिस्तारै देश उठाउनुपर्छ यसले । पुर्खाको आशिर्वाद पनि जरुरी छ यो नेतृत्वलाई । विगत ४ दशकमा जे भए, खराब भए, स्वतन्त्रताको नाममा अस्मिता लुटिए, निहत्था हजारौँको ज्यान गयो, भएभरका उद्योग कलकाखानाको नामोनिसान रहेन, सत्तास्वार्थको उन्माद अन्ततः अहिले विसर्जित भएको छ । तर अहिले आएको सबैजसो नेतृत्व अपरिपक्व छ भन्ने चर्चा चुलिएको छ । गम्भीर भएर सरकारले निर्णय गर्नुपर्छ । लाज नमानीकन पुर्खा र विज्ञहरुको सल्लाह पनि लिनुपर्छ । सतहीरुपमा अब हुन्न । सत्ताको बागडोर सम्हाल्न सजिलो छैन ।
पुराना उद्योग कलकारखाना खोलिइहाले पनि त्यो सीप, त्यो जाँगर, त्यो मेसिनरी, पार्टपूर्जा छैन । अहिले अत्याधुनिक आइसकेका छन् । त्यो क्षमतामा उत्पादन र उत्पादकत्व दिने सम्भावना पनि छैन । हरतरहले सुझबुझका साथ सिंहदरबार अघि बढोस् । अल्लो, लोक्ता, ऊनी कपडा, हस्तकला, हातेकागज, मह, पातबाट बन्ने दुनाटपरी, अम्रिसो, ढाकाका उत्पादन, खुकुरी, करुवा, जडीबुटी नेपाली घरेलु पहिचान धेरै छन् तर बेखबर छन् । पहिले त इतिहास बोकेको घरेलु तथा साना उद्योग विभाग नै संघीयताको कोपभाजनमा परेको छ । उद्यमशीलता, व्यवसाय प्रवद्र्धनको तालिम दिने घरेलु समितिहरु नै लोकतन्त्रले खाइदिएको छ । यहाँ ढिलो परिणाम लिने उद्यमी होइन, तुरुन्तै नाफा पाउने व्यापारीहरु छन् । विदेशबाट सामान आयात गरी भन्सार महसुल जम्मा गर्ने नेतृत्व छ र दलहरुको छाता ओढेर व्यवसायीहरु उद्योगमा लगानी होइन, राजनीतिमा लगानी गरिरहेका छन् । यहाँ व्यापारीहले दलहरुको भवन नै बनाउने, किन्ने गर्छन् । अहिले सबैमा राजनीतिक चेत आयो तर आर्थिक चेत आएन । भएका घरजग्गा बेचेर मीठो खाने र राम्रो लाउने अवस्था देखियो । सबैले कोर्स करेक्सन गर्नुपर्छ अब । हामी नेपाली उत्पादनमुखी अर्थतन्त्रको प्रतीक्षामा छौँ ।











प्रतिक्रिया