१० खेलाडीमा सीमित इंग्ल्यान्ड क्वाटरफाइनलमा, मेक्सिको ३–२ ले पराजित


काठमाडौं।

इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को प्रि–क्वाटरफाइनलमा सह–आयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै अन्तिम आठ (क्वाटरफाइनल) मा स्थान सुरक्षित गरेको छ।

रोमाञ्चक बनेको खेलमा इंग्ल्यान्डका लागि जुड बेलिङहमले ३६औँ र ३८औँ मिनेटमा लगातार दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। पहिलो हाफको ४२औँ मिनेटमा युलियन क्विन्योनेसले गोल फर्काउँदै मेक्सिकोलाई २–१ को अवस्थामा ल्याए।

दोस्रो हाफको ५४औँ मिनेटमा जारेल क्वान्सा रातो कार्ड पाएपछि इंग्ल्यान्ड १० खेलाडीमा सीमित भयो। त्यसको छ मिनेटपछि ६०औँ मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै अग्रता ३–१ मा पुर्‍याए।

मेक्सिकोले ६९औँ मिनेटमा राउल जिमिनेजको पेनाल्टी गोलबाट अन्तर ३–२ मा झारे पनि त्यसपछि बराबरी गोल गर्न सकेन। बाँकी समयमा दुवै टोलीले अवसर सिर्जना गरे पनि थप गोल निस्किएन र इंग्ल्यान्डले कठिन जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गर्‍यो।

अब इंग्ल्यान्डले क्वाटरफाइनलमा नर्वेको सामना गर्नेछ भने सह–आयोजक मेक्सिकोको विश्वकप यात्रा प्रि–क्वाटरफाइनलमै समाप्त भएको छ।