रिलिज डेट नतोकिंदै अन्तर्राष्ट्रिय बजारमा बिक्यो पेन्सनपट्टा


निर्देशक माओत्से गुरुङको नयाँ फिल्म पेन्सन पट्टाले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा राम्रो व्यापारिक सम्भावना देखाएको छ। बेलायत र हङकङपछि अब फिल्मको अष्ट्रेलिया तथा न्युजिल्यान्ड प्रदर्शन अधिकार बिक्री भएको निर्माण पक्षले जनाएको छ।

निर्माण टिमका अनुसार अष्ट्रेलिया र न्युजिल्यान्डको प्रदर्शन अधिकार द ब्याक इभेन्ट्सले खरिद गरेको छ। यसअघि बेलायतका लागि सपन इन्टरटेन्टमेन्ट लिमिटेड र हङकङका लागि मेन ड्रागन लिमिटेडले प्रदर्शन अधिकार खरिद गरेका थिए। रिलिज डेट घोषणा हुनुअघि नै विभिन्न अन्तर्राष्ट्रिय बजारमा फिल्मको अधिकार बिक्री भएको हो।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मले नेपाली समाज, परिवार, सम्बन्ध र मानवीय संवेदनाको कथा प्रस्तुत गर्नेछ। फिल्मले मानिसको जीवनमा पेन्सन पट्टाले जगाउने आशा र त्यसका लागि गर्नुपर्ने संघर्षलाई मानवीय दृष्टिकोणबाट चित्रण गर्ने निर्माण टिमले जनाएको छ।

निर्देशक गुरुङका यसअघिका फिल्म पुरानो डुंगा र दयारानीले स्वदेशसंगै विदेशमा पनि सकारात्मक प्रतिक्रिया पाएका थिए।
फिल्ममा दयाहाङ राई, सुनिल थापा, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, सोल गुरुङ, सुरज तमु, राज थापा काउचा, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधरलगायत कलाकारले अभिनय गरेका छन्।

लेखन माओत्से गुरुङको रहेको फिल्ममा गीत हर्क साउद, शिव बराइली र सुरज तमु, संगीत मनोज थापा मगर, शिव बराइली र सुरज तम, कला निर्देशन राजु याक्चा, छाया“कन सुशन प्रजापति, कलर राजेन्द्र मोक्तान, भिएफएक्स मनोज श्रेष्ठ र सम्पादन केर डी. कोइच लिनुचको रहेको छ।