काठमाडौं।
भोगलपुर चेस एकेडेमीका सुभम कुमारले युनाइट नेपाल थ्रु चेस प्रतियोगिताको उपाधि जितेका छन्।
नौ चरणसम्म चलेको प्रतियोगितामा सुभमले ८ अंक जोड्दै शीर्ष स्थान हासिल गरे। समान ८ अंक भए पनि टाइब्रेकका आधारमा भक्तपुरका स्वर्णिम दुवाल दोस्रो र भोजपुरका कुमार विक तेस्रो स्थानमा रहे। दोलखाका सुमन मोक्तान चौथो भए।
उपाधि विजेता सुभमले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। उपविजेता स्वर्णिमले १५ हजार, तेस्रो स्थान हासिल गरेका कुमार विकले १० हजार तथा चौथो भएका सुमन मोक्तानले ७ हजार रुपैयाँ पुरस्कार पाए।

महिलातर्फ राधिका पौडेल पहिलो, पूजा भण्डारी दोस्रो र डेनिसा पुरी तेस्रो भइन्।
विजेता खेलाडीहरूलाई थापाथली चेस पार्कका अध्यक्ष सानुराज बज्राचार्य, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष दिपेन राई, कोषाध्यक्ष वीरबहादुर रावत, अन्तर्राष्ट्रिय आर्बिटर ज्ञानेन्द्र खाइजु, प्रतियोगिताका प्रायोजक मोहनसिंह प्रधान तथा ब्रिटिस मोडल कलेजका प्रिन्सिपल राजन राईलगायतले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगितामा नेपाल र भारतका गरी २४० खेलाडीको सहभागिता रहेको थियो। नेपालका ७६ जिल्लाका खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गरेका आयोजकले जनाएको छ।
प्रायोजक मोहनसिंह प्रधानले २०८१ सालदेखि चेसमार्फत नेपाललाई भावनात्मक रूपमा एकताबद्ध गर्ने उद्देश्यका साथ प्रतियोगितालाई निरन्तर सहयोग गर्दै आएका छन्। यस वर्षको प्रतियोगिता उनले आफ्ना ससुरा सहदेव कर्माचार्य र सासु जानकी कर्माचार्यको स्मृतिमा आयोजना गरिएको जानकारी दिए।











प्रतिक्रिया